सामाजिक सञ्जाल र अनलाइन मिडियालाई व्यवस्थित गर्न सुझाव
सञ्चार क्षेत्रका विज्ञले सामाजिक सञ्जाल, अनलाइन टिभी, (युट्युब लगायत) र अनलाइन मिडियालाई व्यवस्थित गर्नुपर्ने सुझाव दिएका छन् ।
प्रेस काउन्सिल नेपालले बिहिबार आयोजना गरेको ‘अनलाइन टिभी, (युट्युब लगायत सामाजिक सञ्जाल) र अनलाइन मिडियालाई कसरी व्यवस्थित गर्ने’ विषयक अन्तरक्रियामा सञ्चार विज्ञ तथा सरोकारवालाले नियमन र निर्देशनसँगै मिडियालाई जिम्मेवार बनाउनुपर्ने सुझाव दिएका हुन् ।
काउन्सिलका अध्यक्ष बालकृष्ण बस्नेतले ती मिडियाबाट आउने अडियो/भिडियो सामग्रीमा पत्रकारिता भए/नभएकोबारे बहस गर्नुपर्ने आवश्यकता औँल्याउनुभयो । सत्यतथ्य सूचना र समाचारको सम्प्रेषणबाट समाजमा सकारात्मक सञ्चार गराउन इन्टरनेटबाट दिइने सामग्रीलाई कसरी व्यवस्थित गराउने भन्ने सम्बन्धमा काउन्सिलले छलफल शुरु गरेको जानकारी दिनुभयो ।
पत्रकार भुवन केसीले सञ्चारकर्मी र पत्रकार फरक भएको भन्दै सोसियल मिडिया र पत्रकारिता बेग्लै भएकाले सबै युट्युबरले पत्रकार नै बन्न खोजेको हो होइन बुझ्नुपर्ने बताउनुभयो । अनलाइन टिभी पत्रकार सङ्घका अध्यक्ष जीवन भण्डारीले सोसियल मिडियालाई जिम्मेवारीबोध गराउनुपर्ने बताउनुभयो ।
अनलाइन पत्रकार सङ्घका अध्यक्ष शिव सत्यालले इन्टरनेटको प्रयोगबाट विभिन्न एप्स र सञ्जालमा आउने अडियो/भिडियो पत्रकारिताभित्र नपर्ने उल्लेख गर्नुभयो ।
प्रतिक्रिया राख्नुहोस्