यादव पक्षको जसपा विवाद पुनः निर्वाचन आयोग पुग्ने
अध्यक्ष उपेन्द्र यादव पक्षले नेतृत्व गरेको जनता समाजवादी पार्टी नेपाल (जसपा) ले पार्टीको आधिकारिकताका लागि निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको छ ।
पार्टीको बिहिबार भएको कार्यकारिणी समितिको बैठकले निर्वाचन आयोगमा निवेदन दिने निर्णय गरेको समितिका सदस्य मोहम्मद इश्तियाक राईले जानकारी दिनुभयो । सत्तासमीकरणमा दुई पक्षमा विभाजन जसपाको एउटा समूहको नेतृत्व अध्यक्ष यादव र अर्को पक्षको नेतृत्व अर्का अध्यक्ष महन्थ ठाकुरले गर्नुभएको छ । ठाकुर नेतृत्वको समूह अहिले सरकारमा सहभागी छ ।
दुवै पक्षले एकार्कालाई कारबाही गरेर पार्टीबाट निस्कासन गरेपनि निर्वाचन आयोगले मान्यता दिएको छैन । सोही कारण यादव पक्षले पुनः पार्टी आधिकारिकताका लागि निर्वाचन आयोगमा जाने निर्णय गरेको हो । बैठकबारे ठाकुर पक्षलाई भने कुनै जानकारी गराइएको थिएन । अध्यक्ष ठाकुरले बुधबार विज्ञप्ति निकालेर यादव पक्षले बोलाएको बैठक अवैधानिक र अनाधिकृत रहेकाले त्यस्तो बैठकमा सहभागी नहुने जनाउनुभएको थियो ।
बैठकले लुम्बिनी प्रदेशमा संसदीय दलको ह्वीप उल्लघंन गरेका चारजना सांसदलाई स्पष्टीकरण सोध्ने निर्णय गरेको छ । त्यस्तै, सरकारले बजेटमै गिटी, बालुवा निकासी गर्न उल्लेख गरेको विषयलाई फिर्ता लिन आग्रह गरेको छ ।
बैठकले बाढी पहिरोका घटनाका पीडितहरूलाई उद्धार गर्न तथा तत्काल राहत प्रदान गर्न सरकारलाई आग्रह गरेको छ । बैठकले पीडितको उद्धार कार्यमा सक्रिय हुन पार्टीका नेता तथा कार्यकर्तालाई निर्देशन दिनेसमेत निर्णय गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्