जन सरोकार

सडक दुर्घटनामा सञ्चारकर्मीको मृत्यु

सडक दुर्घटनामा परी महोत्तरीमा कार्यरत एक सञ्चारकर्मीको मृत्यु भएको छ । महोत्तरीको गौशालास्थित रेडियो जुनतारामा कार्यरत सञ्चारकर्मी ३० वर्षीय अर्जुन कुशवाहाको शुक्रबार साँझ मृत्यु भएको हो ।

रेडियोमा आफ्नो काम सकेर ज७प ९०४२ नम्वरको मोटरसाइकलबाट घर जाँदै गरेका सर्लाही ईश्वरपुर नगरपालिका–१३ का कुशवाहालाई सर्लाहीकै हरिपुर्वा नगरपालिका–८ मा विपरित दिशाबाट तीव्र गतिमा आउँदै गरेको टिपरले ठक्कर दिँदा उनको घटनास्थलमै मृत्यु भएको उहाँका रेडियो सहकर्मी नरेन्द्र महतोले जानकारी दिनुभयो ।

सडक छेउमा थुपारिएको बालुवाको थुप्रो कटाउने क्रममा विपरति दिशाबाट आएको टिपरले ठक्कर दिँदा कुशवाहाको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय सर्लाहीले जनाएको छ । शुक्रबार साँझ भएको सो घटनालगत्तै आक्रोशित बनेका स्थानीयवासीले टिपरमा आगजनी गरेर सडक अवरुद्ध गरेको थियो । प्रहरीले टिपर र टिपर चालकलाई नियन्त्रणमा लिएपछि स्थिति साम्य भएको छ ।

नेपाल पत्रकार महासङ्घ महोत्तरीका अध्यक्ष कमलेश मण्डलले शोक व्यक्त जारी गरी घटनाको अनुसन्धान गरेर बस्तीभित्र तीव्र गतिमा टिपर चलाउने चालकलाई हदैसम्मको सजाय र मृतकका परिवारलाई क्षतिपूर्ति दिन माग गरिएको छ ।

उपत्यकाको चाँगुनारायण नगरपालिका–९ ताथलीमा रहेको बिएम इँटाभट्टाको खाल्डोमा डुबेर एक बालकको मृत्यु भएको छ । स्थानीयवासी राजु मछेका छोरा १० वर्षीय रोजनको शव पोखरीमा आज भेटिएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक दीपक गिरीले जानकारी दिनुभयो ।

शुक्रबार करीब ११ः०० बजेदेखि बालक हराएको भन्दै वरिपरि छिमेकी, साथीभाइसँग बुझ्दासमेत कतै फेला नपरेपछि थप खोजतलास गर्दा पोखरीमा बच्चा डुबेको भेटिएको प्रहरीले जानकारी दिएको छ । इँटाभट्टाले जथाभावी खाल्डा खनेर पोखरी बनाएर बारसमेत नहाली राख्दा हरेक वर्ष भक्तपुरका इँटाभट्टामा यसैगरी बच्चा डुब्ने गरेका छन् । शवपरीक्षणका लागि केएमसी अस्पताल दुवाकोट पठाइएको र घटनाका सम्बन्धमा थप अनुसन्धान भइरहेको प्रहरी नायब उपरीक्षक गिरीले बताउनुभयो ।

त्यसै गरी धादिङ जिल्लाको उत्तरी क्षेत्र सेर्तुङमा सडक खन्ने काममा प्रयोग भएको डोजर पहिराले पुर्दा शुक्रबार बेलुकादेखि दुई व्यक्ति बेपत्ता भएका छन् ।

धादिङबेँसी तिप्लिङ सडकअन्तर्गत आदा खोलामा डोजर पहिराले पुरेर मान्छे बेपत्ता भएका हुन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक महेन्द्र खड्काका अनुसार डोजर चालक सिन्धुपाल्चोक निवासी राजु पराजुली र रुबी भ्याली गाउँपालिका–५ का जोजो तामाङ आदाखोलामा बेपत्ता भएकाले खोजी भइरहेको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.