जन सरोकार

काठमाडौंमा मानव वस्ती कहिलेदेखि (भिडियो)

जापानी अनुसन्धानले भेट्यो कम्तिमा ३० हजार वर्ष अगाडिदेखि मानव बस्ती रहेको तथ्य

काठमाडौं उपत्यका विश्वका प्राचीनतम शहरमध्ये एक हो भन्ने तथ्यबाट सबै जानकार छन् । तर यो उपत्यकाको अस्तित्व कहिलेदेखि भयो भन्नेमा स्पष्ट र प्रमाणिक आधार अहिलेसम्म भेटिएको छैन । प्रचलित मान्यता अनुसार व्याख्या हुने गरेको छ ।

एउटा सत्य के हो भने काठमाडौं उपत्यकाको बनावट हेर्दा स्पष्ट हुन्छ, कुनै समय यो विशाल ताल थियो । यही तालको पानी चोभारको डाँडोबाट कटाएर यहाँ बस्ती बसालिएको हो । उपत्यकाका सम्पूर्ण नदी-नालाहरुको पानी निकास हुने थलो चोभार हो ।

सबभन्दा बढी प्रचलित मान्यता अनुसार यो तालको पानी चोभारको डाँडोबाट कटाएर बस्ती बसाउने थिए बौद्ध धर्मग्रन्थमा वर्णन गरिएका एक बुद्ध मञ्जुश्री ।

अर्कोतिर नेपाल नामाकरण भएको भनिने प्राचीन नेपालका शासक गोपालबंशको निरन्तरता मानिने गोपालीहरुको मान्यतामा भने कृष्णको सुदर्शन चक्रले चोभारको गल्छी खोलेर यो खाल्डोको पानी बाहिर फालेको र त्यसपछाडि तिनले गोपालहरुलाई त्यो उपत्यका हस्तान्तरण गरेर गएको धारणा रहेको छ ।

आआफ्नो मान्यता वा धारणा भए पनि स्वयम्भुपुराणकै आधारमा मञ्जुश्रीसित सम्बन्धित किंवदन्तिले आधिकारीक मान्यता पाएको छ । जस अनुसार चीनबाट आएका महामञ्जुश्रीले चन्द्रहर्ष खड्गले काटेर चोभारको गल्छी खोलेको वर्णन गरिएको छ । पाठ्यपुस्तकहरुमा पनि यो राखिएको छ ।

अर्कोतिर काठमाडौंलाई नेपाल भनिएको र महाभारतमा नेपालको नाम किटिएको छ । महाभारत बुद्धकाल भन्दा अगाडि नै घटेको घटनाको रुपमा बुझ्दा त्यो बेला नै नेपाल लडाइमा सहभागि हुन सेना पठाउने हैसियतमा रहिसकेको हुँदा त्यसले पनि नेपालको प्राचिन अस्तित्त्वमाथि प्रकाश पार्छ ।

पौराणिक तथ्यहरु छाडेर वैज्ञानिक अध्ययनतिर जाने हो भने अर्कै प्रमाणा भेटिन्छन् । जापानी सहयोगमा गरिएको भूगर्व अध्ययनले उपत्यकाको पानी एकैपल्ट बाहिर निस्केको नभइ पटक पटक गरी निस्केको हुनुपर्ने अनुमान गरेको छ । यस्तो प्रक्रिया सही हो भने कम्तिमा पनि १ लाख वर्ष अगाडि देखि नै पानी बाहिर जाने क्रम शुरु भएको हुन सक्छ । भूगर्भविदहरुको बुझार्इ अनुसार यदि सम्पूर्ण उपत्यका नै पानीमुनि रहेको हो भने त्यो ३० हजार वर्ष भन्दा अगाडि हुनुपर्दछ ।

थिमि, र यलको भूवनौट २५ हजार र १८ हजार वर्ष अगाडि नै पानीभन्दा माथि आइसकेको क्षेत्र थियो भन्ने दावी उनीहरुको छ । त्यस्तै बुढानिलकण्ठ क्षेत्रमा गरिएको उत्खननमा ३० हजार वर्ष अगाडिको प्रागमानव हातहतियारहरु भेटिनु तथा यहाँ बस्ती बसेका ठाउँहरु पनि दशौं हजार वर्ष अगाडि नै आवादयोग्य भइसकेको तथ्य उजागर भएको छ ।

अध्ययनले के कुरा पनि उजागर गरेको छ भने प्राचीन नेवार बस्तीहरु निकै योजनाका साथ बनाइएको छ । जस्तो कि २५००० वर्ष अगाडि पानीभन्दा माथि आएको थिमिको नेवार वस्तिमा जुन नाप नक्सा डिजाइन र दर्शन पछ्याएर बाटो, चोक, मन्दिर, इनार, ढल आदि संरचना बनाइएको छ, ठीक त्यही डिजाइनको वस्ति १८००० वर्ष अगाडि पानीभन्दा माथि आएको पाटनमा देखिन्छ । (विकिपिडिया)

तथ्यहरु जेजस्ता भए पनि मञ्जुश्रीले चोभारको पानी काटेर बस्ती बसालेको कथन नै बढी प्रचलित छ । वैज्ञानिक अध्ययनहरु मात्रै आधिकारिक हुन् भनेर भन्न र मान्न सकिन्न ।

मञ्जुश्री र कृष्णको चक्रको चर्चा प्रचलनमा रहे पनि उपत्यकाको वास्तविकताको तथ्य अझै स्पष्ट छैन । तर, मञ्जुश्रीको सम्मानमा चोभारमा उनको मूर्ति स्थापनाको पहल थालिएको छ । चोभारस्थित जलविनायक मन्दिर परिसरमै मञ्जुश्रीको मूर्ति स्थापना गर्न लागिएको छ । यो मूर्तीले उपत्यकाको अस्तित्वसंग जोडिएको एउटा किम्वदन्तीलाई उजागर गर्दछ ।

अर्को तथ्य के बुझ्नु जरुरी छ भने मञ्जुश्री एक समयका बुद्ध भएका कारण उनको अस्तित्व कति हजार वर्षअघि थियो भन्ने यक्किन छैन । सिद्धार्थ गौतम बुद्ध हुनुअघि ११ जना बुद्ध रहेको बताइन्छ । मञ्लुश्री कतिऔं बुद्ध हुन् ? यो अध्ययन गर्दा उपत्यकामा आवादीको वैज्ञानिक अध्ययनको निकट पुग्न सकिन्ने कतियको धारणा छ ।

किनभने गौतम बुद्धको अस्तित्व २५ सय वर्षअघिको हो र बौद्ध ग्रन्थहरु त्योभन्दा पछिका । वैज्ञानिक अध्ययनले उपत्यकाको बस्ती ३० हजार वर्षपहिलेदेखि रहेको देखिन्छ । अध्ययनको अर्को पाटो मञ्जुश्री कतिऔं र कति हजार वर्षअघिका बुद्ध हुन् भन्ने हुनसक्छ ।

 

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.