केही दिन यता साढे तीन हजारभन्दा बढीमा कोरोना भाइरस संक्रमण पुष्टि भैरहेकाबेला आज भने सोा संख्यामा निकै कमी आएको छ । आइतबार पछिल्लो २४ घण्टामा थप २ हजार ५ सय ६८ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ ।
यो संख्या हिजोको भन्दा एक हजारभन्दा बढीले कमी हो । यसै अवधिमा १८ जनाको मृत्यु भएको छ भने २०२० जनाको संक्रमणमुक्त भएका छन् ।
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार ८४०२ पीसीआर परीक्षणमा १९८१ र ४२३४ एन्टिजेन परीक्षणमा ५८७ जना गरी २५६८ जनामा संक्रमण पुष्टि भएको हो ।
आइतबार थपिएकासँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ६ लाख ९७ हजार ३७० पुगेको छ । तीमध्ये ९ हजार ८७५ जनाको मृत्यु भएको छ भने ६ लाख ५६ हजार १९७ जना संक्रमणमुक्त भएका छन् ।
मन्त्रालयका अनुसार हाल देशभर सक्रिय संक्रमितको संख्या ३१ हजार २९८ जना रहेका छन् । जसमध्ये २८ हजार ६३ जना होम आइसोलेसनमा रहेका छन् भने ३ हजार २३५ जना संस्थागत आइसोलेसनमा रहेका छन् । कोरोनाका बिरामीमध्ये ६७७ जना आईसीयू र १६९ जना भेन्टिलेटरमा उपचाररत् छन् ।
यस्तै १० वर्ष मुनिका ६० बालबालिकमा कोरोना संक्रमण देखिएको छ भने ११ देखि २० वर्ष उमेर समूहका १५६ जना कोरोना संक्रमित थपिएको मन्त्रालयले जनाएको छ ।
कुन जिल्लामा कति संक्रमित थपिए ?
स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार सबैभन्दा धेरै काठमाडौंमा ५९४, झापामा २०७, कास्कीमा २०४, मोरङमा १९२ र ललितपुरमा १६६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
यस्तै भक्तपुरमा ९१, सुनसरीमा ८९, रुपन्देहीमा ५२, नुवाकोटमा ३९, चितवनमा २७ तथा जुम्ला र सुर्खेतमा २४/२४ जनामा कोरोना संक्रमण देखिएको छ ।
सिन्धुलीमा २३, गोरखामा १९, धादिङमा १५ र तनहुँमा १० जना कोरोना संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्