अति सङ्क्रामक मानिएको डेल्टा भेरिअन्टको उत्परिवर्तन हालै नेपालमा पनि पुष्टि भएपछि कोभिड महामारीबारे थप चिन्ता र चासो व्यक्त भइरहे पनि निषेधाज्ञा हट्दै जाँदा सङ्क्रमण पनि बढिरहेको छ ।
मंगलबार नेपालमा २४ घण्टामा ३ हजार ३८३ जनामा कोरोना भाइरस सङ्क्रमण पुष्टि भएको छ । १० हजार ६३८ नमुनाको पीसीआर परीक्षणमा २ हजार ४४८ र ६ हजार ८० एन्टिजेन परीक्षण गर्दा ९३५ जनामा कोरोना सङ्क्रमण देखिएको हो ।
यस्तै पछिल्लो २४ घण्टामा कोरोना सङ्क्रमणबाट थप २४ जनाको मृत्यु भएको छ भने १ हजार ९९४ जना निको भएका छन् । नेपालमा कोरोना भाइरस संक्रमणदर दक्षिण एसियामा बंगलादेशपछि दोस्रो स्थानमा छ । नेपालमा अहिले जुन अनुपातमा संक्रमण भैरहेको छ त्यो भारतकोभन्दा चारगुणा बढी हो ।
स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयको तथ्याङ्कअनुसार अपवादबाहेक अझै सङ्क्रमण पुष्टि दर २० प्रतिशतभन्दा घट्न सकेको छैन । अर्थात् १०० जना मानिसको परीक्षण गर्दा सरदर २० जनामा कोभिड पुष्टि हुने गरेको छ ।
विशाल जनसंख्या भएको भारतमा मङ्गलवार बिहानसम्म कुल ३,१६,९५,९५८ कोरोनाभाइरस सङ्क्रमित भएका छन् भने ४,२४,७७३ जनाको मृत्यु भएको जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कले देखाउँछ । भारतपछि बाङ्ग्लादेशमा हालसम्म कुल १२,८०,३१७ जनामा सङ्क्रमण पुष्टि भएको छ भने २१,१६२ जनाले ज्यान गुमाएका छन् ।
पाकिस्तानमा कुल सङ्क्रमण सङ्ख्या १०,३९,६९५ पुगेको छ भने २३,४६२ को मृत्यु भएको छ । नेपालमा कोरोनाभाइरस सङ्क्रमित मानिसको कुल सङ्ख्या सात लाख र मृत्यु हुनेको सङ्ख्या १०,००० पुग्न लागेको छ ।
जोन्स हप्किन्स विश्वविद्यालयको तथ्याङ्कअनुसार श्रीलङ्कामा हालसम्म ३,१३,७६९ जना कुल सङ्क्रमित छन् भने ४,५६६ जनाको मृत्यु भएको छ।
अफगानिस्तानमा १,४७,९८५ जना सङ्क्रमित भएका छन् भने ६,७७४ जनाको मृत्यु भएको छ । माल्दिभ्समा ७७, ६३३ जना कुल सङ्क्रमित छन् भने २२१ जनाको मृत्यु भएको छ । भुटानमा हालसम्म २,५२४ जना मात्र सङ्क्रमित छन् भने कोभिड १९ का कारण दुई जनाको मात्र मृत्यु भएको छ ।
दक्षिण एशियाली मुलुकमध्ये बाङ्ग्लादेशमा अहिले सङ्क्रमण सबैभन्दा उच्च देखिएको छ । अहिले तेस्रो लहर खेपिरहेको बाङ्ग्लादेशमा सङ्क्रमण पुष्टि दर ३० प्रतिशत रहेको छ ।
त्यसपछि नेपालको अवस्था उच्च जोखिममा रहेको छ । नेपालमा पछिल्ला केही सातायता १९ देखि २३ प्रतिशतको बीचमा सङ्क्रमण दर पुष्टि हुने गरेको स्वास्थ्य मन्त्रालयको तथ्याङ्कले देखाउँछ ।
कोभिड महामारीको चौथो लहर झेलिरहेको पाकिस्तानमा अहिले देशव्यापी औसतमा ८ प्रतिशत सङ्क्रमण दर पाइएको छ । केही साताअघिसम्म संसारमै ठूलो सङ्ख्यामा दैनिक सङ्क्रमित र मृतकको सङ्ख्या पुष्टि हुने गरेको भारतमा अहिले त्यो ओरालो लाग्ने क्रममा छ ।
भारतको स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयका अनुसार पछिल्लो समय त्यहाँ पाँच प्रतिशतभन्दा कम सङ्क्रमण दर देखिएको छ ।
नेपालमा सङ्क्रमण नियन्त्रण तथा रोकथाम र खोप कार्यक्रमको गतिलाई लिएर विज्ञले असन्तोष व्यक्त गरेका छन् । इपिडिमियोलोजी तथा रोग नियन्त्रण महाशाखाका पूर्वनिर्देशक डा. वासुदेव पाण्डेका अनुसार सङ्क्रमण दर अझै पनि २० प्रतिशत देखिनु भनेको दक्षिण एशियामा नेपालको अवस्था गम्भीर नै छ भन्ने हो ।
प्रतिक्रिया राख्नुहोस्