एभरेष्ट प्रिमियर लिग (ईपीएल)को उपाधि जित्ने टोलीले पाउने ट्रफी सार्वजनिक गरिएको छ । आयोजक ईपीएल प्रालिले आज कार्यक्रमको आयोजना गर्दै उक्त ट्रफी सार्वजनिक गरेको हो ।
ईपीएलका प्रबन्ध निर्देशक आमिर अख्तर र हंशराज हुलासचन्द एन्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले सो ट्रफी सार्वजनिक गर्नुभएको हो । चौथो संस्करणको ईपीएल आगामी असोज ९ देखि २३ गतेसम्म कीर्तिपुरस्थित त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा हुने आयोजक ईपीएल प्रालिका प्रबन्ध निर्देशक अख्तरले जानकारी दिनुभयो ।
उक्त प्रतियोगितामा ललितपुर प्याट्रियट्स, काठमाडौँ किंग्स ११, विराटनगर वारियर्स, भैरहवा ग्लाडिएटर्स, चितवन टाइगर्स र पोखरा राइनोजले प्रतिस्पर्धा गर्नेछन् । गत वर्ष आयोजना हुने भनिएको ईपीएलको कोरोना महामारीका कारण एक वर्ष ढिला हुन लागेको हो । ईपीएललाई अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी)ले मान्यता प्रदान गरेको छ ।
ईपीएलमा नेपालका उत्कृष्ट खेलाडीका साथै विदेशीले समेत भाग लिने आयोजकले जनाएको छ । काठमाडौँ किंग्स ११ ले पाकिस्तानी क्रिकेट टोलीका पूर्व कप्तान शाहिद अफ्रिदीलाई तथा चितवन टाइगर्सले पाकिस्तानकै डानिस अजिजलाई अनुबन्ध गरिसकेको छ ।
सो प्रतियोगितालाई नेपाल क्रिकेट सङ्घ (क्यान)ले समेत मान्यता प्रदान गरिसकेको आयोजकले जनाएको छ ।
प्रतिक्रिया राख्नुहोस्