पौडेल पक्ष भन्छ– विवाद कायमै राखी अधिवेशन गराउनु दुःखद
५६ जिल्लाको वडा अधिवेशन सम्पन्न भैसकेको नेपाली कांग्रेसभित्रको सदस्या विवाद अझै साम्य भएको छैन । महाधिवेशनको तिथि नजिकै आइसक्दा पनि नेताहरु आपसी आरोप-प्रत्यारोपमै उत्रिरहेका छन् ।
यस क्रममा संस्थापन इतर समूहले क्रियाशिल सदस्यता विवाद समाधान नगरी वडा अधिवेशन गराउनु दुःखद भएको बताएको छ । संस्थापन इतर समूहको पार्टी केन्द्रीय कार्यालय सानेपामा बसेको बैठकपछि पत्रकार सम्मेलन गरी डडेलधुरालगायत अधिकांश जिल्लामा पार्टी प्रवेशको नाममा निर्धारित विधि, प्रक्रिया र मापदण्ड विपरीत क्रियाशिल सदस्यता विवाद समाधान नगरी प्रशासनको आडमा अधिवेशन गरिएको भन्दै आपत्ती जनाएको हो ।
पत्रकार सम्मेलनमा पार्टीका वरिष्ठ नेता रामचन्द्र पौडेलले पार्टी सभापति एवम् प्रधानमन्त्री शेरबहादुर देउवाको गृह जिल्ला डडेलधुरामा राज्यशक्ति र प्रशासनिक शक्तिको दुरुपयोग गरी एकपक्षीयरूपमा गरिएको वडा अधिवेशनले लोकतान्त्रिक प्रणाली, पार्टीको मर्यादा र मूल्य परम्पराको खिल्ली उडाएको बताउनुभयो ।
“नेपाली कांग्रेसको इतिहासमा पहिलोपटक विधान र परम्परा तोडेर क्रियाशील सदस्यताको टुङ्गो नलगाई अधिवेशन–निर्वाचन प्रारम्भ गरिएको छ, पार्टी विधान र केन्द्रीय कार्यसमितिको निर्णयसमेतलाई लत्याएर बलपूर्वक प्रक्रिया अगाडि बढाइएकोमा हाम्रा गम्भीर असहमति छन्,” उहाँले भन्नुभयो ।
उहाँले देशव्यापीरूपबाट एकैपटक महाधिवेशन हुने परम्परा तोडेर अधिवेशन प्रारम्भ भएको एक हप्तासम्म २० जिल्लाको क्रियाशील सदस्य सूची अझै टुङ्गो नलाग्नु दुःखद भएको बताउनुभयो । क्रियाशील सदस्यता वितरणमा भएको गैरजिम्मेवारी, मनपरि र अराजकताले कांग्रेस लोकतान्त्रिक आदर्श र संस्कार अनुरुपको पार्टी नरहने खतराको लक्षण देखा पर्न थालेको उहाँको भनाइ छ ।
वरिष्ठ नेता पौडेलले यथाशीघ्र विधि र प्रक्रियाअनुसार नेतृत्व चयनका लागि पुनःनिर्वाचन गर्नसमेत माग गर्नुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्