ओमानमा जारी आईसीसी विश्वकप लिग-२ को समूहको अन्तिम खेलमा नेपालले ओमानलाई सस्तैमा समेटेको छ । टस जितेर फिल्डिङ रोजेको नेपालले आफ्नो निर्णय सही सावित गर्दै ओमानलाई १२२ रनमा समेटेको हो ।
ओमानका कुनै पनि ब्याट्सम्यानलाई खुलेर खेल्न नदिएका नेपाली बलरहरुमा करण केसी र सन्दीप लामिछाने सर्वाधिक सफल रहे । दुबैले समान ४-४ विकेट लिए भने र शरद भेषवाकरले २ विकेट लिए ।
यसअघि अमेरिकासंगको दुई खेलमा एकमा जित हातपारेको नेपाल दोस्रो खेलमा पराजित भएको थियो भने ओमानसंग पनि पराजित भएको थियो ।
विश्वकप लिग–२ मा नेपाल रहेको समूहमा पपुवा न्यूगिनी, ओमान, अमेरिका, स्कटल्याण्ड, नामिबिया र युनाइटेड अरब इमिरेटस् (युएई) रहेका छन् ।
समूहमा ओमान १२ खेलमध्ये १० मा जित र दुईमा हार व्यहोर्दै २० अङ्कसहित शीर्षस्थानमा छ । अमेरिका १५ खेलमा ७ खेलमा जित र ८ मा हारसहित १४ अङ्क जोड्दै दोस्रो स्थानमा छ ।
त्यसै गरी स्कटल्याण्ड आठ खेलमा चारमा जित र तीनमा हारका साथ नौ अङ्क जोड्दै तेस्रो स्थानमा छ । नामिबिया सात खेलमा चारमा जित र तीनमा हार व्यहोर्दै आठ अङ्कसहित चौथो स्थानमा छ ।
यसै गरी युएई सात खेलमा तीनमा जित र तीनमा हारका साथ सात अङ्क जोड्दै पाँचौँ स्थानमा छ । युएईले खेलेको एउटा खेल रद्द भएको थियो ।
ताजा स्थितिमा नेपाल ७ खेलमा तीन जितसहित ६ अंकका साथ छैठौं स्थानमा छ भने पपुवा न्यूगिनी हालसम्म खेलेका आठवटै खेलमा पराजित भएको छ । पपुवा न्यूगिनी अङ्कविहीन बन्दै लिग–२ को पुछारमा छ ।
लिग–२ अन्तर्गत सन् २०२३ सम्म नेपालसहित उक्त समूहका सातवटै देश प्रत्येकले ३६ एकदिवसीय खेल खेल्ने छन् । लिग–२ का शीर्ष तीन टोली सन् २०२३ मा भारतमा आयोजना हुने एकदिवसीय विश्वकपका लागि ग्लोबल छनोटमा स्थान बनाउने छन् भने पुछारमा रहने चार टोलीले प्लेअफ खेल्ने छन् ।
प्रतिक्रिया राख्नुहोस्