काठमाडौंमा सम्पन्न चौथो संस्करणको एभरेष्ट प्रिमियर लिग (इपिएल) टी–ट्वान्टी क्रिकेटको उपाधि चितवन टाइगर्सले जितेको छ । शनिबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको फाइनलमा पोखरा राइनोजलाई ४ विकेटले पराजित गर्दै चितवनले उपाधिमाथि कब्जा जमाएको हो ।
फाइनलमा टस हारेर पहिले ब्याटिङ गरेको पोखराले १७.५ ओभरमा सबै विकेट गुमाउँदै १ सय ११ रनको योगफल बनाएको थियो । जितका लागि १ सय १२ रनको सामान्य लक्ष्य पछ्याएको चितवनले १५ ओभर ५ बलमा ६ विकेटको क्षतिमा पूरा गर्यो । उसका लागि भीम सार्कीले ६३, दिलिप नाथले १८, राजेश पुलामीले १४ र मोहम्मद शाहजादले ११ रनको योगदान गरे ।
यसअघि चितवनले टस जितेर फिल्डिङ रोजेपछि पहिले व्याटिङ गरेको पोखरा १७ ओभर पाँच बलमा अलआउट हुँदै १११ रनमा समेटिएको थियो ।
पोखराका लागि असेला गुणरत्नेले ३४, रिचार्ड लेभीले २६, कप्तान विनोद भण्डारीले २२ र विपिन रावलले १७ रन जोडे पनि अन्य कुनै पनि व्याट्सम्यानले दोहोरो अंकको रन बनाउन सकेनन्।
पोखरालाई सस्तैमा समेट्न चितवनका कमल ऐरीले ४, करिम जनत र सीक्कुगे प्रशन्नाले २–२ तथा सोमपाल कामी र सागर ढकालले समान एक विकेट लिए । पोखराका किशोर महतोले चार तथा नन्दन यादवले दुई विकेट लिए ।
प्रतिक्रिया राख्नुहोस्