काठमाडौँमा बसेकाले मात्रै गठबन्धन र तालमेल भनेर हुँदैन : प्रवक्ता शर्मा
नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले कांग्रेसले निर्वाचनमा गठबन्धन गर्दा सम्बन्धित जिल्लाको रायअनुसार गर्ने बताउनुभएको छ । नेपाली कांग्रेस भरतपुर महानगरपालिका–७ ले आज यहाँ आयोजना गरेको ‘दलमा रूपान्तरण, देश रुपान्तरणका लागि एवं ज्येष्ठ नागरिक सम्मान’ कार्यक्रमर्मा उहाँले कांग्रेसले निर्वाचनमा गठबन्धन गर्दा जिल्ला र त्यहाँका महाधिवेशन प्रतिनिधिको रायअनुसार गर्ने बताउनुभएको हो ।
उहाँले भन्नुभयो, “आम निर्वाचनमा एक्लै लड्ने कि गठबन्धन बनाएर निर्वाचन लड्ने भन्ने विषयमा जिल्लाको, महाधिवेशन प्रतिनिधिको रायअनुसार हुन्छ । काठमाडाैमा बसेकाले निर्णय गरेर लाद्ने काम हुँदैन ।” केन्द्रको निर्णयले तल्लो तहका नेता कार्यकर्ताको भावनामा ठेस पुग्न नहुने उहाँले बताउनुभयो ।
कार्यक्रममा उहाँले कांग्रेसले १, २, ३, ४ को नीति अपनाएर पार्टीभित्र रूपान्तरणको सुरुआत गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “एकपटक राष्ट्रपति, दुई पटक प्रधानमन्त्री, तीन पटक मन्त्री र चार पटक सांसद भएपछि एग्जिट (बाहिरिनु) हुनुपर्छ ।” चार पटकसम्मको संसदीय कार्यकालभित्र सबै भए वा नभए पनि पछि लोभ गर्न नहुने उहाँको भनाइ थियो ।
देशमा रूपान्तरण गर्न समाज रूपान्तरण हुन जरुरी रहेको भन्दै उहाँले जनतालाई बुझाउन सक्ने कांग्रेस बनाउनु आवश्यक रहेको बताउनुभयो । कांग्रेसले सरकारमा रहँदा गरेका कामलाई बुझाउने काम गर्नु आवश्यक रहेको उहाँको भनाइ थियो । प्रवक्ता शर्माले भन्नुभयो, “कांग्रेस महाधिवेशनपछि १५ वर्षे नीति अधिवेशन बनाएर अघि बढ्नु पर्छ ।” पन्ध्र वर्ष काङ्ग्रेसले देश चलाउँदा कस्तो बनाउने भन्ने स्पष्ट नीतिका साथ जनतामाझ जानु आजको आवश्यकता रहेको उहाँको भनाइ थियो ।
हरेक वर्गका जनताको भावनाअनुसार कांग्रेसलाई चलाउनका लागि दलमा रूपान्तरण र देश रूपान्तरणका लागि आफूले ४२ बुँदे अवधारणा पत्र अघि सारेको भन्दै उहाँले अब देश बनाउने जिम्मेवारी कांग्रेसको काँधमा रहेको जिकिर गर्नुभयो । कांग्रेसलाई बलियो बनाउनका लागि गाउँतहबाटै बलियो बन्नुपर्ने उहाँको तर्क थियो ।
वडा सभापति विनोद ढकालको अध्यक्षतामा सम्पन्न कार्यक्रममा नेपाली कांग्रेस चितवनका सभापति जीतनारायण श्रेष्ठ, बिनाविभागीय राज्यमन्त्री उमेश श्रेष्ठ, प्रदेशसभा सदस्य मिलनबाबु श्रेष्ठलगायतले बोल्नुभएको थियो । सो अवसरमा विभिन्न पार्टी परित्याग गरी नेपाली कांग्रेसमा प्रवेश गर्नेलाई स्वागत गरिएको थियो । यस्तै वडामा रहेका ज्येष्ठ नागरिकलाई सम्मानसमेत गरिएको थियो ।
प्रतिक्रिया राख्नुहोस्