प्रधानन्यायाधीशका विषयमा छिट्टै निकास निकाल्छु : प्र.म.
प्रधानमन्त्री शेरबहादुर देउवाले प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराका विषयमा छिट्टै निकास निकाल्ने आश्वासन नेपाल बार एसोसिएसनका पदाधिकारीलाई दिनुभएको छ ।
शुक्रबार बार अध्यक्षसहितका पदाधिकारीहरुसंग छलफल गर्दै प्रधानमन्त्री देउवाले गठबन्धनका दलसँग छलफल गरेर निकास निकाल्ने बताउनुभएको हो ।
कानुन व्यवसायीका कुरा सुनेपछि प्रधानमन्त्री देउवाले बारले प्रधानन्यायाधीशलाई लिएर उठाएका विषयमा आफू जानकार रहेको र प्रधानन्यायाधीशका विषयमा आफू गम्भीर रहेको प्रधानमन्त्रीले बताएको नेपाल बारका महासचिव लिलामणि पौडेलले जानकारी दिनुभएको छ ।
छलफलमा प्रधानन्यायाधीशको बहिर्गमनको विकल्प नभएको कुरा बारका पदाधिकारी र वरिष्ठ अधिवक्ताहरूले राखेको पौडेलले बताउनुभयो ।
प्रधानमन्त्रीसँग प्रधानन्यायाधीशबारे छलफल गर्न बारका अध्यक्ष वरिष्ठ अधिवक्ता चण्डेश्वर श्रेष्ठ, सर्वोच्च अदालत बार एसोसिएसनका अध्यक्ष वरिष्ठ अधिवक्ता पूर्णमान शाक्य, बारका पदाधिकारी, वरिष्ठ अधिवक्ताहरू दमननाथ ढुंगाना, बद्रिबहादुर कार्की, प्रेमबहादुर खड्का, शम्भु थापा, रमन श्रेष्ठ, हरिहर दाहाल, सतीशकृष्ण खरेललगायतको उपस्थिति थियो ।
प्रतिक्रिया राख्नुहोस्