अर्थ

बिजुली- औद्योगिक विकासको कच्चा पदार्थ हो

नेपालमा उपभोग्य क्षमताभन्दा बढी विजुली उत्पादन भएर खेर जान थालेकाले यसको निर्यात र खपत बढाउने अनेक योजना बनिरहेका बेला यस क्षेत्रका जानकारहरूले बिजुलीलाई कच्चा पदार्थका रूपमा मान्दै आन्तरिकरूपमा नै खपत गर्नुपर्ने र औद्योगिक विकासमा जोड दिनुपर्नेमा सुझाव दिएका छन् ।

उनीहरुले आन्तरिकरूपमा खपत बढाउने र बढी भएको बिजुली बङ्गलादेश र भारतमा समेत निर्यात गर्ने गरी कानूनी एवं प्राविधिक तयारी गर्नुपर्नेमा जोड दिएका छन् ।

नेपाल आर्थिक पत्रकार समाज(सेजन) र इकोनमिक पोलिसी इन्क्युभेटर (इपिआइ) ले संयुक्तरूपमा आयोजना गरेको ‘नेपालमा विद्युत् व्यापारको सम्भावना र चुनौती विषयक’ अन्तक्र्रियामा सहभागीले व्यापार घाटा घटाउनका लागि पनि बिजुलीको निर्यात जरुरी छ ।

ऊर्जा जलस्रोत तथा सिँचाइमन्त्री पम्फा भुसालले राजनीतिक, आर्थिकभन्दा ऊर्जा कूटनीति नै बिजुली निर्यातका लागि अपरिहार्य रहेको बताउनुभयो । उहाँले अहिलेका अवस्थामा ऊर्जा कूटनीति नै निर्णायक हुने बताउनुभयो ।

अहिले छिमेकी देश भारतका लागि राजदूत भएका शङ्कर शर्मालाई समेत कार्यकाल सफलतामा ऊर्जा कूटनीतिमै भरपर्ने भनेर आफूले जोड दिएको बताउनुभयो । विद्यमान कानूनले नपुगेर नै नयाँ कानून ड्राफ्ट भएको भन्दै राजनीतिक अवरोध भएन भने यही हिउँदे अधिवेशनमा यो विधेयक पास हुने मन्त्री भुसालको भनाइ छ ।

“विद्युत् प्राधिकरणले कम्पनीमार्फत व्यापार गर्न पाउने गरी कम्पनीलाई अनुमति दिने तयारी भइरहेको छ”, उहाँले भन्नुभयो, “निजी क्षेत्रले पनि भरपर्दो आधार दिए विधेयक पास नभए पनि अनुमति दिन्छाैँ । त्यसका लागि आवश्यक तयारी भइरहेको छ ।”

उहाँले उपयुक्त आधारसहित बिजुली निर्यातको तयारी गर्नसमेत निजी क्षेत्रलाई आग्रह गर्नुभयो । निजी क्षेत्रले भरपर्दो विकल्पसहित आएको खण्डमा सरकारले अनुमति दिन कुनै पनि कन्जुस्याइँ नगर्ने मन्त्री भुसालको भनाइ छ ।

पूर्वऊर्जामन्त्री राधा ज्ञवालीले विकासका कुरामा सत्तापक्ष प्रतिपक्ष सबै एकै ठाउँमा हुनुपर्ने बताउनुभयो । उहाँले ऊर्जाको उत्पादन वृद्धि गर्ने सवालमा सरकारकातर्फबाट कुनै पनि अवरोध हुन नहुने बताउनुभयो । विद्युत् खरिद सम्झौता (पिपिए) रोक्न नहुने भन्दै उहाँले निजी क्षेत्रलाई भरपूर प्रयोग गर्न सकिने बताउनुभयो ।

बङ्गलादेशमा बिजुली बेच्न नेपाल र बङ्गलादेशले संयुक्तरूपमा भारतसँग प्रस्ताव गर्नुपर्ने ज्ञवालीको भनाइ छ । ऊर्जा मन्त्रालयभित्रै विज्ञ रहेकाले ऊर्जा क्षेत्रका समाधान गर्न सक्नुपर्ने उहाँले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.