राष्ट्रिय सभा निर्वाचनका लागि गठबन्धनको भागवण्डा
आगामी माघ १२ गते हुने राष्ट्रिय सभा निर्वाचनका लागि सत्ता गठबन्धनले भागवण्डा मिलाएका छन् । भोलि मंगलबार उम्मेदवारी दर्ता गर्नुअघि आज गठबन्धनको बैठकले भागवण्डा मिलाएका हुन् ।
सोमबार बिहान बसेको सत्ता साझेदार दलको बैठकले राष्ट्रिय सभामा रिक्त हुन लागेका सिटहरुमा भागबण्डा गरेर उम्मेदवार उठाउने निर्णय गरेको हो ।
बैठकले कांग्रेसको भागमा ६, माओवादी केन्द्र र एकीकृत समाजवादीको भागमा ५–५, जसपाले २ र जनमोर्चाले १ सिट पाउने छन् ।
खाली हुने १९ सिटमध्ये आठ वटामा एमाले र बाँकीमा सत्ता गठबन्धनकै सदस्यहरुको कार्यकाल सकिंदै छ । यसअघि जुन–जुनबाट सदस्यहरु थिए, त्यो सिटमा सम्बन्धित दलबाटै उम्मेदवार बनाउने र एमालेको सिटमा भागवण्डा गर्ने सहमति भएको राष्ट्रिय जनमोर्चाकी उपाध्यक्ष दुर्गा पौडेलले जानकारी दिनुभयो ।
यसो गर्दा माओवादी केन्द्र र एकीकृत समाजवादीले चार–चार तथा कांग्रेसले तीन सिट पाए । एमालेले जितेको आठ सिटमा कांग्रेसले ३, जसपाले २, माओवादी केन्द्र, एकीकृत समाजवादी र जनमोर्चाले १–१ सिट पाउने गरी भागबण्डा भएको छ ।
प्रतिक्रिया राख्नुहोस्