सरकारले बैठकले माघ १६ गतेदेखि २० गतेसम्म कोभिडविरुद्धको खोप लगाउने प्रयोजनका लागि विद्यालय खोल्ने निर्णय गरेको छ । त्यो समयमा विद्यालयमा खोप अभियान नै चलाइने छ ।
गृहमन्त्री बालकृष्ण खाँणको अध्यक्षतामा कोभिड–१९ रोक्ने विषयमा विभिन्न मन्त्रालयका प्रतिनिधिबीच गृहमन्त्रालयमा भएको बैठकले उक्त निर्णय गरेको हो ।
त्यस्तै विश्वविद्यालयस्तरमा चलिरहेका र मिति निश्चित भएका परीक्षा स्वास्थ्य सुरक्षा सतर्कता अपनाएर सञ्चालन गर्ने निर्णय पनि बैठकले गरेको छ ।
कोभिड सङ्क्रमण भएका विद्यार्थीलाई छुट्टै स्थानको व्यवस्था गरेर परीक्षा दिन पाउने व्यवस्था गर्न निर्देशन दिने निर्णय पनि बैठकले गरेको छ । त्यो सर्कुलर भने सम्बन्धित मन्त्रालयले विश्वविद्यालयमा गर्नेछ ।
त्यस्तै बैठकले हवाईजहाजमा यात्रा गर्नेलाई टिकट काट्दा नै खोपकार्ड अनिवार्य देखाउनुपर्ने व्यवस्था गर्न भनिएको छ । अनलाइन टिकट काट्नेले पनि कोभिडविरुद्ध खोप लगाएको कार्ड अनिवार्य राख्नुपर्ने व्यवस्था मिलाउन भनिएको छ ।
त्यस्तै बैठकले राष्ट्रिय परिचयपत्र र इ–पासपोर्ट बनाउन अत्यावश्यक काम परेकालाई बाहेक तत्कालका लागि स्थगन गर्न सम्बन्धित निकायलाई लेखी पठाउने निर्णय पनि गरेको छ ।
नेपाल प्रहरी र सशस्त्र प्रहरीका अस्पतालबाट पनि सर्वसाधारणलाई कोभिडविरुद्धको खोप लगाउने व्यवस्था मिलाउन भनिएको छ । विदेशबाट नेपाल भित्रने नाकामा एन्टीजेन्ट परीक्षण गर्ने र खोप नलगाएकालाई खोप लगाउने व्यवस्था गर्ने निर्णय पनि बैठकले गरेको छ ।
बैठकमा सहभागी गृह मन्त्रालयका विपद् व्यवस्थापन महाशाखा प्रमुख प्रदीप कोइरालाले नेपालमा रहेका विदेशी नागरिकलाई पनि खोप लगाउने व्यवस्था मिलाउन बैठकले निर्देशन दिएको जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्