एमसीसी बिरुद्धको प्रदर्शनकारीमाथि अश्रुग्याँस प्रहार
सरकारले अमेरिकी सहयोग मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी) सम्झौता संसदबाट पारित गर्न लागेको भन्दै यसको विरोधमा उत्रिएका प्रदर्शनकारीमाथि प्रहरीले अश्रुग्याँस प्रहार गरेको छ ।
काठमाडौंस्थित नयाँ बानेश्वरमा प्रहरीबीच तनाव उत्पन्न भएको हो । प्रदर्शनकारीले प्रहरीको सुरक्षा घेरा तोडेर बबरमहल सडकतर्फ विरोध प्रदर्शनलाई अघि बढाएपछि प्रहरीले अश्रुग्यास प्रहार गरेको थियो ।
सो क्रममा केही प्रदर्शनकारी घाइते भएका छन् । एमसीसीको विरोधमा उत्रिएकाहरूले उत्तेजक नाराबाजी गर्दै अघि बढेपछि प्रहरीलाई नियन्त्रण गर्न मुस्किल परेको थियो । प्रहरीले प्रदर्शनकारीलाई तितरवितर गर्न पानीको फोहोरा तथा लाठीचार्ज पनि गरेको थियो ।
त्यसै गरी एमसीसी विरोधमा उत्रिएका प्रदर्शनकारीहरूले माइतीघरमा विरोध प्रदर्शन र कोणसभा गरेका थिए । विरोध प्रदर्शनका क्रममा प्रहरी र प्रदर्शनकारीबीच झडप भएको र केही प्रदर्शनकारीलाई गिरफ्तार गरिएको छ ।
एमसीसीविरुद्ध आज नेकपा (माओवादी केन्द्र) र एकीकृत समाजवादीका भ्रातृ संगठनले संयुक्तरुपमा प्रदर्शन गरेका हुन् । त्यस्तै आज विप्लव नेतृत्वको नेकपासहित पाँच दलीय गठबन्धनले पनि एमसीसीको विरुद्धमा नेपाल बन्द आह्वान गरेका छन् ।
प्रतिक्रिया राख्नुहोस्