राजनीति

संसद्मा एमालेको अवरोध कायमै

लामो समयदेखि संसद बैठक अबरुद्ध गर्दैआएको प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले आजको बैठकमा पनि अबरोध गरेको छ ।सभामुख अग्निप्रसाद सापकोटाले बैठकको कारवाही सुरु भएको घोषणा हुनासाथ एमालेका सांसदले विरोध सुरु गरेका हुन् ।

एमालेले आफूले कारवाही सिफारिस गरेका १४ सांसदलाई सभामुखले सूचना प्रकाशन नगरेकालगायतका विषय उठाएर अवरोध गर्दै आएको छ ।

सभामुख सापकोटाले कोभिड–१९ का कारण लामो समयदेखि बस्न नसकेको बैठकलाई सञ्चालन गर्न आग्रह गर्दै जनताका आवाजलाई मुखरित हुन दिन र राज्य सञ्चालनका लागि आवश्यक ४२ विधेयकमा छलफल गर्ने वातावरण निर्माणका लागि विशेष अनुरोध गर्नुभयो ।

सभामुखको पटकपटकको आग्रहपछि पनि विपक्षीले नाराबाजीसहित विरोध जारी राखेका थिए । सभामुख सापकोटाले सदनको अवरोधबारे नागरिक समाज, बौद्धिक जगतलेसमेत चिन्ता जाहेर गरेका सन्दर्भमा पनि ध्यानाकर्षण गराउनुभएको थियो ।

सभामुख सापकोटाले अवरोधका कारण संसदीय गतिविधि प्रभावहीन बन्न पुगेको र नागरिकबाट सिर्जित नागरिकको सर्वोच्च निकायका सम्मानित सदनमा विधि र प्रक्रियाबाट आफ्ना विषय राख्न आग्रह गर्नुभयो । “संसद् सञ्चालन गरौँ, बैठक सुसञ्चालनको वातावरण सिर्जना गरौँ, म विशेष आग्रह गर्दछु”, उहाँले भन्नुभयो ।

अबरोधकाबीच प्रतिनिधिसभाको आजको बैठकले विभिन्न समयमा दिवङ्गत हुनुभएका तीन पूर्वसांसद तथा तत्कालीन संविधानसभाका सदस्यको निधनप्रति शोक प्रस्ताव पारित गरेको छ ।

बैठकमा सभामुख अग्निप्रसाद सापकोटाले छुट्टाछुट्टै पेश गर्नुभएको प्रस्तावलाई सर्वसम्मतिले पारित गरेको हो । बैठकले नेपाली कांग्रेसकोतर्फबाट २०६४ सालको संविधानसभामा समानुपातिकतर्फबाट निर्वाचित सदस्य जगतबहादुर ताजपुरियाको निधनप्रति श्रद्धाञ्जली अर्पण गर्दै शोकसन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ । ताजपुरियाको ७८ वर्षको उमेरमा गत पुस १७ गते शनिबार निधन भएको थियो ।

त्यसैगरी बैठकले राष्ट्रियसभामा २०५८ सालमा तत्कालीन नेकपा (एमाले)का तर्फबाट निर्वाचित सदस्य नेता लक्ष्मीदास मानन्धरको निधनप्रति पनि शोक प्रस्ताव पारित गरेको छ । मानन्धरको ९३ वर्षको उमेरमा गत माघ ६ गते निधन भएको थियो ।

यस्तै बैठकले २०७० सालको संविधानसभामा तत्कालीन एमालेका तर्फबाट निर्वाचित सदस्य डा दुमनसिंह थापाको निधनप्रति शोक प्रकट गरी श्रद्धाञ्जली अर्पण गर्दै शोक सन्तप्त परिवारप्रति समवेदना प्रकट गरेको छ ।

थापाको ६३ वर्षको उमेरमा गत माघ १६ गते निधन भएको थियो । प्रतिनिधिसभाको अर्को बैठक फागुन ६ गते दिउँसो १ बजे बस्नेछ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.