कर्पोरेट/पर्यटनकला/मनोरन्जनकलिउड

नेपाली चलचित्रका कारण पर्यटकीय क्षेत्रहरू विदेशमा चिनिएको

संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री प्रेमबहादुर आलेले नेपालको पर्यटन क्षेत्रको प्रचार प्रसार तथा पर्यटन प्रवद्र्धनमा कलाकारहरूको अहम भूमिका रहेको बताउँदै नेपाली चलचित्रहरूका कारण हाम्रा पर्यटकीय क्षेत्रहरू देश विदेशमा चिनिएको बताउनुभयो ।

सोमबार बक्स अफिस इन्टरनेशनल गु्रपले आज आयोजना गरेको १६औँ ब्लक–बस्टर नेपाली फिलिम अवार्ड कार्यक्रमलाई सम्बोधन गर्नु हुँदै मन्त्री आलेले कलाकारहरूले निर्माण गरेका नेपाली फिलिमहरूका कारण हाम्रा पर्यटकीय क्षेत्रहरू देश विदेशमा चिनिएको बताउनुभयो ।

उहाँले भन्नुभयो, “नेपाली कलाकारले निर्माण गरेका फिलिमका कारण हाम्रा देशका पर्यटकीय क्षेत्रहरू देश विदेशमा चिनिएका छन्, पर्यटन प्रवद्र्धन तथा कक्ष संस्कृतिको जर्गेनामा कलाकारको अहम भूमिका छ ।”

कोरोना भाइरस (कोभिड–१९) का कारण विगत दुई वर्षदेखि थला परेको नेपालको पर्यटन क्षेत्र अब नेपाली कलाकारले आफ्ना फिलिमहरू निर्माण गरेर माथि उकास्न तथा प्रचार प्रसार गर्नसमेत मन्त्री आलेले सबै कलाकारमा आग्रह गर्नुभयो ।

यसैगरी मन्त्री आलेले नेपालका पर्यटकीय क्षेत्रको प्रचार प्रसार हुने खालका चलचित्र निर्माण गर्नसमेत आग्रह गर्नुभयो । उहाँले भन्नुभयो, “निर्देशक साथीहरूले अहिलेसम्म निर्माण गरेका फिलिमहरू नेपाल र यहाँका पर्यटकीय क्षेत्र चिनाउने खालका छन्, अझै पनि हाम्रा कला संस्कृति चिनाउने फिलिमहरू निर्माण गर्नुस्, मैले गर्नसक्ने सहयोग गर्नेछु ।”

नेपालका हिमालमा चलचित्र निर्माणदेखि लिएर यहाँका पर्यटकीय क्षेत्रमा निर्माण गरिने चलचित्रहरूमा राजस्व बढी लाग्ने गरेको भन्ने गुनासोसमेत आएकाले ती क्षेत्रहरू मेरै मन्त्रालयअन्तर्गत पर्ने भएकाले राजस्वमा केही कमी गर्नका लागि पहल गर्नेसमेत मन्त्री आलेले जानकारी दिनुभयो ।

यसैगरी मन्त्री आलेले वरिष्ठ नायक शिव श्रेष्ठ, नायिका पूजा शर्मालगायतका कलाकारले चलचित्र क्षेत्रमा उल्लेख्य योगदान दिएको र पर्यटन प्रवद्र्धनमा पनि राम्रो काम गरेको भन्दै प्रशंसासमेत गर्नुभएको थियो ।

उक्त कार्यक्रममा वरिष्ठ नायक शिव श्रेष्ठ, नायिका पूजा शर्मा, गायक पूर्ण संगम जेठारा तथा चलचित्र क्षेत्रमा सहयोग गर्ने भक्तबहादुर आलेलगायतका कलाकार तथा स्रष्टाहरूलाई चलचित्र क्षेत्रमा उल्लेखनीय कार्य गरेको भन्दै विभिन्न अवार्डबाट सम्मानित गरिएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.