क्रिप्टोकरेन्सीको महाजालो, तीनजनाले गरे ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँ बराबरको कारोबार
नेपालमा प्रतिबन्धित डिजिटल मुद्रा क्रिप्टोकरेन्सीको अबैध कारोबारको जालो फैलदै गएको पाइएको छ । मुलुकमा अवैध कारोबारका कारण बैध अर्थतन्त्रमा समस्इा आइरहेको विज्ञहरुले बताइरहेका बेला प्रहरीले तीन जनालाई पक्राउ गरेको छ ।
काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालयले आइतबार र सोमबार तीन जनालाई पक्राउ गरेको प्रहरी उपरीक्षक कृष्ण कोइरालाले जानकारी दिनुभयो ।
प्रहरी उपरीक्षक कोइरालाका अनुसार उनीहरूले ६६ करोड ७९ लाख ७९ हजार ९८३ रुपैयाँ बराबरको कारोबार गरिसकेका छन् ।
बिटक्वाइन, युएसडिटी सोलाना, इथेरियमलगायत विभिन्न करेन्सीको अवैध कारोबार गरेको भन्दै प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो ।
पक्राउ पर्नेमा झापा बिर्तामोड घर भई काठमाडौं महानगर(१६ सोह्रखुट्टेका २२ वर्षीय अनुप मिश्र, काभ्रे घर भई क्षेत्रपाटी बस्ने २४ वर्षीय दिपेश थापा र बाफल बस्ने २७ वर्षीय राहुल चचान छन् ।
हाल उनीहरूमाथि बैंक तथा वित्तीय संस्थासम्बन्धी २०७३ बमोजिम थप कारबाही र अनुसन्धानको लागि जिल्ला प्रहरी परिसर, काठमाडौं पठाएको कार्यालयले जनाएको छ।
अनुप मिश्रले सन् २०२१ देखि बाइनान्स अकाउन्ट प्रयोग गरी विभिन्न २० वटा क्रिप्टोकरेन्सी जम्मा गरेको अनुसन्धानबाट खुलेको कोइरालाले बताउनुभयो ।
उनले मात्रै ३५ करोड ४६ लाख ८३ हजार ६ सय ११ रुपैयाँ बराबरको कारोबार गरेको देखिएको छ। हाल भने उनको बाइनान्सको अकाउन्टमा १२ हजार ८३२ अमेरिकी डलर बराबरको बिटक्वाइन देखिएको छ।
दिपेश थापाले पनि सन् २०२१ मेदेखि बाइनान्सका दुइटा अकाउन्टमार्फत् ७ वटा क्रिप्टोकरेन्सीको कारोबार गरेको देखिएको छ।
उनले मात्रै २४ करोड ७९ लाख ५६ हजार ९१८ रुपैयाँ बराबरको कारोबार गरिसकेका छन् । उनको खातामा हाल १ हजार ३९९।८० डलर बराबरको बिटक्वाइन देखिएको कोइरालाले जानकारी दिनुभयो।
यस्तै, राहुल चचानले करिब एक वर्षदेखि २० वटा क्रिप्टोकरेन्सीहरू जम्मा गरी छ करोड ५३ लाख ३९ हजार ४३९ रुपैयाँ बराबरको कारोबार गरेका छन्। उनको अकाउन्टमा हाल ६५१ अमेरिकी डलर बराबरको बिटक्वाइन देखिएको छ।
प्रतिक्रिया राख्नुहोस्