कर्पोरेट/पर्यटन

नेवानिको उडान आठ देशका १० शहरमा- रियादको एकतर्फी भाडा ३७ हजार रुपैयाँ

राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगमले आठ देशका १० गन्तव्यमा नियमित उडान सुरु गरेको छ । शुक्रबार साउदी अरबको रियादको उडानसँगै १० गन्तव्यमा उडान विस्तार भएको हो ।

निगमले यसअघि भारतका तीनसहित सात देशका नौ गन्तव्यमा उडान भर्दै आएको थियो । निगमले भारतको नयाँदिल्ली, मुम्बई, बैंग्लोर, दुबई, दोहा, क्वालालम्पुर, हङ्कङ, बैङ्कक र जापानको नारितामा अन्तर्राष्ट्रिय उडान गर्दै आएको छ ।

देशको शान र पहिचान जोडिएको निगमको अन्तर्राष्ट्रिय गन्तव्यको उडानले कूटनीतिक सम्बन्ध विस्तार र बढीभन्दा बढी विदेशी पर्यटक भित्र्याउन राष्ट्रिय ध्वजावाहकको ऐतिहासिक भूमिका रहँदै आएको छ र अगामी दिनमा पनि यो कायमै रहने निगमको विश्वास छ ।

कार्यकारी कार्यकारी अध्यक्ष युवराज अधिकारीले निगमको व्यवस्थापन सुधारदेखि सेवा सुदृढीकरण र बजार विस्तारमा निगम व्यवस्थापन अहोरात्र लागिपरेको बताउनुभयो । व्यवस्थापनको मेहनत, कर्मचारीको साथ र सहयोगले नै छोटो समयमा निगमभित्र धेरै सकारात्मक परिवर्तन गरिएको र यसलाई परिणाममुखी बनाउन निगम अग्रसर रहेको उहाँको भनाइ छ ।

अन्य काममा पनि निगमभित्रका कर्मचारीको सहयोग र तालुकदार मन्त्रालय र नियामक निकायसँगको समन्वयमा केही नतिजामुखी काम भएको पनि अध्यक्ष अधिकारीको जिकिर थियो ।

रियादको एकतर्फी भाडा ३७ हजार रुपैयाँ

शुक्रबारबाट सुरु भएको काठमाडौँ–रियाद गन्तव्यका लागि एकतर्फी भाडादर रु ३७ हजार कायम गरिएको छ । निगमका प्रवक्ता अर्चना खड्काले हाललाई एकतर्फी भाडादर कायम गरिएको बताउनुभयो । निगमले साउदी अरेबिया उडानका लागि वाइडबडी र न्यारोबडी दुवै जहाजले उडान गर्नेगरी ‘स्लट’ पाएको छ ।

यो गन्तव्यको उडानमा निगमले सहुलियतपूर्ण भाडादर, यात्रुलाई सुविधा ‘इनफ्लाइट’ खाना तथा रियादबाट फर्कंदा यात्रुले ४० केजी लगेज सुविधा पाउनेछन् । काठमाडौँ–रियाद एकतर्फी उडान अवधि छ घण्टा १५ मिनेट र रियाद–काठमाडौँ उडान अवधि चार घण्टा ५० मिनेटको हुने निगमले जनाएको छ ।

नेपाली कामदारको बाहुल्य रहेको मुलुक साउदी अरबको उडानले निगमलाई आर्थिकरूपमा लाभ हुनसक्ने अनुमान गरिएको छ । विभिन्न पेसा व्यवसायमा पनि साउदीका विभिन्न गन्तव्यमा नेपाली छन् । अन्य मुलुकबाट ट्रान्जिट भएर आउन पनि यात्रुलाई सहज हुने भएकाले यो गन्तव्य उपयोगी हुने विश्वास गरिएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.