प्रबास

नेपाली प्राध्यापक झालाई चीन सरकारको अवार्ड

चीनको साङ्सी प्रान्तीय सरकारले नेपाली प्राध्यापक डा राजीवकुमार झालाई सन् २०२२ को ‘सान छिन फ्रेण्डसीप अवार्ड’ प्रदान गरेको छ ।

चीनको साङ्सी प्रान्तीय सरकारद्वारा प्रत्येक वर्ष प्रदान गरिने उक्त अवार्ड नेपाली प्राध्यापक झासहित सो प्रान्तमा रहेका १० देशका विशिष्ट व्यक्तित्वलाई प्रदान गरिएको हो ।

साङ्सी सरकारको सबैभन्दा ठूलो सो अवार्ड प्राप्त गर्नेमा नेपालका झासहित संयुक्त राज्य अमेरिका, बेलायत, क्यानाडा, रुस, जर्मनी, दक्षिण कोरिया, स्वीट्जरल्याण्ड, नेदरल्याण्ड्स् र सर्वियाका व्यक्तित्व रहेका छन् ।

उक्त प्रान्तमा रहेर चीनको आर्थिक, सामाजिक, विज्ञान प्रविधि, स्वास्थ्य, संस्कृतिको विकासका साथै चीनसँग आआफ्नो देशको अन्तर्राष्ट्रिय सम्बन्धमा योगदान पु¥याउने विज्ञहरुलाई सरकारले प्रतिस्पर्धाका आधारमा यो अवार्ड प्रदान गर्ने गर्दछ ।

साङ्सी प्रान्तमा रहेका विभिन्न देशका प्राध्यापक, अनुसन्धानदाता, चिकित्सक, वैज्ञानिक, उद्यमीलगायतका व्यक्तित्वमध्येबाट सन् २०२२ का लागि १० जना छनोट गरिएको सियानस्थित सियान मेडिकल युनिभर्सिटीले जनाएको छ । प्राध्यापक झा सोही विश्वविद्यालयमा रहेर प्राध्यापन र अनुसन्धान गर्दै आउनुभएको छ ।

यस अवार्डका लागि साङ्सी प्रान्तीय सरकारले सन् २०२१ को जुनमा वेभसाइटमार्फत आवेदन आह्वान गरेको थियो । सो आवेदनबाट ‘सर्ट लिस्ट’ मा परेका विज्ञहरुमध्येबाट नेपालका झा छानिनुभएको सो विश्वविद्यालयले जनाएको छ ।

सन् १९९९ देखि हरेक दुई वर्षमा प्रदान गर्दै आएको यो अवार्ड प्राप्त गर्ने प्रा डा झा पहिलो नेपाली हुनुहुन्छ । यसअघि प्राडा झालाई सन् २०१८ मा यहाँको सियान सरकारले सियान फ्रेण्डसिप अवार्ड प्रदान गरेको थियो । प्राडा झा दुई दशकभन्दा लामो समयदेखि चीनको सियानमा प्राध्यापन र अनुसन्धान गर्दै आउनुभएको छ ।

पित्तथैलीको क्यान्सरको प्रकोप कम गर्ने विषयमा चिनियाँ विश्वविद्यालयबाट विद्यावारिधि र त्यसपछि विद्या वाचस्पति (पोस्ट डक) पूरा गरी सियान विश्वविद्यालयमा प्राध्यापनरत प्रा डा झाको नाममा सियान प्रान्तीय सरकारले ‘चाइना नेपाल फ्रेन्डसिप मेडिकल रिसर्च सेन्टर अफ प्रोफेसर राजीव कुमार झा’ स्थापना गरेको छ ।

सियान मेडिकल युनिभर्सिटीमा स्थापना गरिएको सो केन्द्रमा क्यान्सर रोगसम्बन्धी अध्ययन, अनुसन्धानका साथै यससम्बन्धी दुई देशबीचको चिकित्सकीय अनुभव आदानप्रदान पनि हुने गरेको छ ।

प्राडा झा चीनका विभिन्न विश्वविद्यालयमा अतिथि प्राध्यापक (भिजिटिङ प्रोफेसर) हुनुहुन्छ । प्राध्यापक झालाई चीन नेपाल सम्बन्धको विकासमा उल्लेख्य भूमिका निर्वाह गरेको भन्दै चीनको साङ्सी प्रान्तीय सरकारले नागरिक दूत एवं चिनियाँ बृहत आयोजना ‘वान वेल्ट वान रोड’ सम्बन्धी नेपालमा सञ्चालन गरिने सम्पूर्ण कार्यक्रम हेर्ने दूतका रुपमा पनि नियुक्त गरेको थियो ।

उक्त अवार्ड केही महिनापछि विशेष समारोहको आयोजना गरेर हस्तान्तरण गरिने कार्यक्रम रहेको जानकारी साङ्सी प्रान्तीय सरकारका प्रवक्ताले आफूलाई जानकारी गराएको प्राडा झाले बताउनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.