‘के गर्न हुन्छ, के गर्न हुँदैन ’
स्थानीय तह निर्वाचनका लागि आज बिहान ७ बजेदेखि उत्साहपूर्ण रुपमा मतदान सुरु भइसकेको छ । यो क्रम साँझ ५ बजेसम्मै चल्नेछ ।
सङ्घीय लोकतान्त्रिक गणतन्त्र नेपालको संविधान जारी भएपछि स्थानीय तहमा दोस्रो कार्यकालका लागि नयाँ नेतृत्व चयन गर्न सम्पूर्ण बालिग मतदाताले आफ्नो मताधिकार प्रयोग गर्ने आज महत्वपूर्ण दिन हो ।
निर्वाचनकै इतिहासमा पहिलोपटक मतदाताको रुपमा नाम दर्ता भई मतदानको दिनभन्दा अघिल्लो दिन १८ वर्ष उमेर पूरा गरेका मतदाताले पनि मतदान गर्ने अवसर पाएका छन् ।
प्रमख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले भन्नुभएको छ- “यो दिनलाई राष्ट्रिय उत्सवका रुपमा ग्रहण गरी सबै मतदाताले आ–आफ्नो मताधिकार प्रयोग गर्नुहुन अपिल गर्दछु ।”
प्रतिनिधिमूलक शासन व्यवस्थाको आधारशीला र लोकतन्त्रको सार्थक अभ्यास गर्ने माध्यम निर्वाचन हो । कानुनबमोजिम योग्यता पुगेका हरेक नागरिकलाई उम्मेदवार बन्ने, निर्वाचित हुने र मतदान गर्ने अधिकार निर्वाचनले प्रदान गर्छ ।
उहाँले पद, पैसा र पहुँचबाट प्रभावित नभई निष्ठा, विचार र सिद्धान्तबाट निर्देशित भई कसैको लोभलालच, प्रलोभन, आश्वासन वा अन्य कुनै प्रभावमा नपरी आफ्नो विवेकको मत सही तरिकाले सही ठाउँमा प्रयोग गर्न आह्वान गर्नुभएको छ ।
निर्वाचनको पूर्वसन्ध्यामा राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री शेरबहादुर देउवालगायत विशिष्ट व्यक्ति एवं मन्त्रिपरिषद् सदस्यले सन्देश र अपिल जारी गर्दै लोकतन्त्रको सबैभन्दा ठूलो उत्सव निर्वाचन भएकाले आफ्नो मताधिकारको सदुपयोग गर्न आह्वान गर्नुभएको छ ।
मुलुकका ७५३ स्थानीय तहको निर्वाचनमा विभिन्न राजनीतिक दलका ३५५ र स्वतन्त्रबाट उठेका ३५ सदस्य निर्विरोध निर्वाचित भएका छन् । निर्वाचनमा १० हजार ७५६ मतदानस्थलका २१ हजार ९५५ मतदान केन्द्रबाट एक करोड ७७ लाख ३३ हजार ७२३ मतदाताले ३४ हजार ८३१ पदमा प्रतिनिधि छनोटका लागि मतदान गर्दैछन् ।
यसपटक निर्वाचनका लागि भनेर दर्ता भएका ७९ राजनीतिक दलमध्ये ६५ राजनीतिक दल चुनावी मैदानमा छन् । कूल ५५ हजार ६९८ महिला र ८९ हजार ३१३ पुरुष गरी एक लाख ४५ हजार ११ चुनावी प्रतिस्पर्धामा छन् ।
मतदानको दिन पालना गर्नुपर्ने आचरण
निर्वाचन आचारसंहिता, २०७८ ले मतदानको दिन आज मतदान केन्द्रमा राजनीतिक दल उम्मेदवार, दलको भ्रातृ सङ्गठन, मतदाता तथा अन्य सम्बन्धित व्यक्तिले पालना गर्नुपर्ने आचरणको सम्बन्धमा स्पष्ट व्यवस्था गरेको छ ।
अचारसंहितामा उल्लेख भएअनुसार राजनीतिक दल वा उम्मेदवारको प्रतिनिधिले निर्वाचन चिह्न वा मत सङ्केत भएको पहिरन वा व्याच लगाउन पाउने छैनन् ।
राजनीतिक दल वा उम्मेदवारको पहिचान देखिने गरी एकै किसिमको साङ्केतिक पोसाक र चिजवस्तु लगाउन, बोक्न वा देखाउन हुँदैन । कुनै किसिमको सवारी साधन प्रयोग गरी आवतजावत गरी कसैलाई लैजान वा ल्याउन नहुने तथा मतदाता एवं आयोगले अनुमति दिएका व्यक्ति वा अधिकारीबाहेक अन्य कुनै पनि व्यक्ति मतदान केन्द्रमा प्रवेश गर्न पनि नहुने व्यवस्था गरेको छ ।
यसैगरी मतदाताले मतदानकेन्द्रमा मतदान गर्न जाँदा मोबाइल क्यामेरा तथा फोटो खिच्ने सामग्री, सलाइ, लाइटरजस्ता प्रज्वलनशील पदार्थ, एसिड कुनै प्रकारको हात हतियार, नमूना मतपत्रलगायतका कागजात, कुनै राजनीतिक दल वा उम्मेदवारको निर्वाचन चिह्न भएको वा सङ्केत जनिने कुनै वस्तु लैजान पाउने छैनन् ।
कुनै नसालु पदार्थ वा मादक पदार्थ सेवन गर्न नहुने, मतदातालाई मतदान गर्न वञ्चित गराउने अभिप्रायले झुठा अफवाह भ्रामक समाचार फैलाउने वा कुनै अवरोध गर्ने काम गर्न गराउन नहुने आचारसंहितामा उल्लेख छ ।
कसैको दल वा उम्मेदवारको झण्डा वा चिह्न अङ्कित कुनै कुरा लगाउन, बोक्न वा प्रदर्शन गर्न नहुने तथा कसैको पक्ष विपक्षमा सामाजिक सञ्जालमार्फत कुनै कुरा प्रकाशन प्रसारण र सम्प्रेषण गर्न नहुने व्यवस्था आचरसंहितामा छ ।
आयोगले आज मतदानस्थल तथा मतदान केन्द्रमा उपरोक्त व्यवस्था कडाइसाथ कार्यान्वयन गर्न÷गराउन सबै मतदान अधिकृतलगायत मतदान कार्यमा खटिने कर्मचारी, सुरक्षाकर्मी, उम्मेदवार तथा उम्मेदवारका प्रतिनिधि सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालालाई अनुरोध गरेको छ ।
बलियो छ सुरक्षा प्रबन्ध
एकैसाथ देशभर सुरु भएको स्थानीय तहको निर्वाचनको मतदानको दिन आज सरकारले बलियो सुरक्षा प्रबन्ध गरेको छ । मतदान अवधिमा तीन घेराको सुरक्षा व्यवस्थासहित सुरक्षा व्यवस्था गरी चुस्त र भरपर्दो बनाइएको छ ।
मुलुकभर दुई लाख ६० हजार बढी सुरक्षाकर्मीले निर्वाचनको पहरा दिइरहेका छन् । उनीहरुले एकीकृत र छुट्टाछुट्टै निर्वाचन सुरक्षा रणनीति निर्माण गरेर चुस्त सुरक्षा व्यवस्था मिलाएकाले मतदान शान्तिपूर्ण रुपमा सुरु भएको छ ।
ती सुरक्षा निकायले भयरहित वातावरणमा निर्वाचन सम्पन्न गर्न सम्पूर्ण शक्ति परिचालन भएको जनाउँदै कुनै अवाञ्छित घटना भएमा वा हुने सङ्केत मिलेमा नजिकका प्रहरी कार्यालयमा सूचना दिनसमेत आह्वान गरिएको छ ।
गृहमन्त्रालयले एक सूचना जारी गरी सुरक्षा व्यवस्था चुस्त रहेकाले ढुक्कका साथ मतदानमा सहभागी हुन अनुरोध गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्