मतदान गर्न जाँदा पालना गर्नुपर्छ यस्ता आचरण
मुलक संघीयतामा प्रवेश गरेपछि हुन लागेको स्थानीय तहको दोस्रो निर्वाचनको मतदान धमाधम चलिरहेको छ । निर्वाचन आयोगले मतदाताले पालना गर्नुपर्ने आचणका विषयमा थप प्रष्ट पारेको छ ।
आयोगले मतदाता नामावलीमा समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा अन्य सक्कली सरकारी कागजपत्रका आधारमा मतदान गर्नसक्ने जानकारी गराएको छ ।
मतदाता नामावलीमा नाम समावेश भएका मतदाताले मतदाता परिचयपत्र वा नेपाली नागरिकताको प्रमाणपत्र वा राष्ट्रिय परिचयपत्र वा राहदानी वा जग्गा धनी प्रमाणपूर्जाको सक्कल प्रमाणको आधारमा मतदान गर्न दिन सबै निर्वाचन अधिकृतलाई निर्देशन दिएको छ ।
स्थानीय तह निर्वाचन निर्देशिका, २०७८ ले गरेका व्यवस्थाका आधारमा आयोगले मतदानको दिन मतदान केन्द्रभित्र मतदाता, उम्मेदवार वा निजको एक जना निर्वाचन प्रतिनिधि वा मतदान प्रतिनिधि, आयोगबाट अनुमतिप्राप्त पर्यवेक्षक, आयोग वा निर्वाचन अधिकृत वा मतदान अधिकृतबाट अनुमति पाएका व्यक्ति, महिला मतदाताको साथमा रहेको बढीमा पाँच वर्षको नाबालक एवं दृष्टिविहीन वा शारीरिकरूपले अशक्त मतदाताको सहयोगको लागि साथमा आएको एकाघरको परिवारको सदस्यलाई मात्र प्रवेश गर्न दिने व्यवस्था गरेको छ तर मादक पदार्थ सेवन गरेको व्यक्ति मतदाता भएता पनि मतदान अधिकृतले मतदान केन्द्रमा प्रवेश गर्न नदिन स्पष्ट निर्देशन आयोगबाट छ ।
आयोगका प्रवक्ता एवं सहसचिव शालिग्राम शर्मा पौडेलले कुनै अवाञ्छित कार्य कहीँकतैबाट भएमा कानुनबमोजिम कारबाही हुने हुँदा मतदान कार्यलाई स्वच्छ, सहज र व्यवस्थित ढङ्गले सञ्चालनमा सहयोग गर्न सबै मतदाता, राजनीतिक दल, नागरिक समाज, पत्रकार तथा निर्वाचनका सबै सरोकारवालालाई आग्रह गर्नुभएको छ ।
निर्धक्क भएर भोट हाल्न अनुरोध
स्थानीय तह सदस्य निर्वाचन २०७९ मा निर्धक्कका साथ भोट हाल्न निर्वाचन आयोगले आम मतदातामा अनुरोध गरेको छ ।
मतदानलाई स्वतन्त्र, भयरहित, निष्पक्ष र विश्वसनीय बनाउन सबै पक्षमा आह्वान गरिएको छ । निर्धक्क भएर मतदानमा सहभागी हुन प्रमुख निर्वाचन आयुक्त थपलियाले मतदातालाई आग्रह गर्नुभयो ।
निर्वाचन सम्पन्न गराउन सञ्चारमाध्यमले उत्साहजनक सहयोग गरिरहेको र आगामी दिनमा पनि सो सहयोगको अपेक्षा रहेको आयोगको भनाइ छ । शान्तिपूर्ण वातावरणमा मतदान प्रक्रिया सम्पन्न गराउनमा मिडियाको भूमिका महत्वपूर्ण रहने छ ।
आयोगका प्रवक्ता पौडेलले बालिग मताधिकारको आधारमा संविधानले सबै नेपाली जनतालाई निर्वाचनमा सहभागी हुने अधिकार दिएको बताउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्