एमालेको किल्लामा कांग्रेस, कांग्रेसकोमा एमाले विजयी
हिजो सम्पन्न स्थानीय तहको निर्वाचनमा एकातिर सत्ता गठबन्धन अनि अर्कोतिर प्रमुख प्रतिपक्षी दल नेकपा एमाले एक्लै चुनावमा होमिएको छ । यो समाचार तयार पार्दासम्मको अपडेट अनुसार मुख्य प्रतिस्पर्धा गठबन्धन र एमालेबीच नभएर एमाले र कांग्रेसबीच मात्रै हुने देखिएको छ ।
अर्कोतिर मत परिणामहरुले विगतको किल्ला कायम गर्न दुबै दल असफल देखिएका छन् । एउटा उदाहरण हिमालपारीको जिल्ला मुस्ताङमा एमालेको किल्लामा कांगेसले जितेको छ भने कांग्रेसका किल्लामा एमाले जियी भएको छ । यो जिल्लामा नेकपा एमाले दुई र नेपाली काँग्रेसले एक स्थानीय तहको प्रमुख र उपप्रमुख जितेका छन् ।
अघिल्लो स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले जितेको सदरमुकाम रहेको घरपझोङ गाउँपालिकामा नेपाली काँग्रेसले बाजी मारेको छ भने बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा काँग्रेसलाई हराउँदै एमालेले प्रवेश गरेको छ ।
लो–घेकर दामोदर कुण्ड गाउँपालिकामा भने अघिल्लो पटक स्वतन्त्र उम्मेदवारका रुपमा जितेका उम्मेदवारले यस पटक एमालेका तर्फबाट विजय हासिल गर्नुभएको हो ।
मुस्ताङको लोघेकर दामोडर कुण्ड गाउपालिका र बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा एमालेले प्रमुख उपप्रमुख जितेको छ भने घरपझोङ गाउँपालिकामा काँग्रेसले प्रमुख उपप्रमुख जितेको छ ।
बाह्रगुङ मुक्तिक्षेत्र गाउँपालिकामा गाउँपालिका अध्यक्ष उपाध्यक्षसहित पाँचमध्ये ४ वडा एमालेले जितेको जिल्ला निर्वाचन कार्यालय मुस्ताङका सूचना अधिकारी समीर थापाले बताउनुभयो ।
थापाका अनुसार एमालेका तर्फबाट अध्यक्ष रिनजिङ नामगेल गुरुङले ८६७ मत प्राप्त गरी विजय हुँदा नेपाली काँग्रेसका आङजेन गुरुङले ५७७ मत पाउनुभएको छ ।
उपाध्यक्षमा एमालेकी दिकी गुरुङ ७४९ मत सहित विजयी हुँदा कांग्रेसकी धेवआङवो गुरुङले ६७७ मत पाउनु भएको छ । अध्यक्षमा २९० एवम् उपाध्यक्षमा ७२ मतान्तरले जित हार भएको सूचना अधिकारी थापाले बताउनुभयो ।
अघिल्लो स्थानीय निर्वाचनमा अध्यक्ष उपाध्यक्ष नै एमालेले जितेको घरपझोङ गाउँपालिकामा अध्यक्षमा नेपाली कांग्रेसका मोहनसिंह लालचनले ७६० मत र उपाध्यक्षमा जमुना थापामगरले ६९३ मत प्राप्त गरी बिजय हुनुभएको छ ।
अध्यक्षका अर्का प्रत्यासी नेकपा एमालेका सञ्जय कुमार थकालीको ७५८ र उपाध्यक्ष मिमकुमारी शेरचनको ६१८ मत प्राप्त गर्नुभएको छ भने राप्रपाका कमला लालचनले १८४ मत प्राप्त गर्नुभएको छ ।
लोघेकर दामोदरकुण्ड गाउँपालिकामा अध्यक्षमा नेकपा एमालेका लोप्साङ छोम्पेल बिष्टले ६८९ र उपाध्यक्षमा छिरिङ ल्हामो गुरुङले ६४२ मत सहित बिजयी हुनुभएको छ ।
अध्यक्षमा एकीकृत समाजवादीका देवबहादुर गुरुङले १८५ र उपाध्यक्षमा नेपाली कांग्रेसका लक्ष्मी गुरुङले २२५ मत सहित निकटतम प्रतिद्वन्दी हुनुहुन्थ्यो ।
प्रतिक्रिया राख्नुहोस्