पूर्वदेखि पश्चिमसम्म स्वतन्त्र उम्मेदवारले ल्याएको तरङ्ग
राजनीति र निर्वाचनलाई आफ्नो पेवा नै ठानेर जस्तालाई पनि उम्मेदवार बनाउने दलहरुको प्रवृत्ति कायम रहँदा यसपटकको स्थानीय तह निर्वाचनमा स्वतन्त्र उम्मेदवारहरुले तरङ्ग नै ल्याइदिएका छन् ।
काठमाडौं महानगरपालिकादेखि देशका प्रमुख पालिकाको प्रमुख पदमा स्वतन्त्र उम्मेदवारी दिएकाहरुको चर्चा देशभरि नै भैरहेको छ । पूर्वको विराटनगर हुँदै पश्चिमको धनगढीसम्म स्वतन्त्र उम्मेदवारहरुले तरङ्ग ल्याएका छन् ।
देशको राजधानी काठमाडौं महानगरपालिकामा स्वतन्त्र उम्मेदवार बालेन साह प्रतिष्पर्धीभन्दा दोब्बर मतले अगाडि हुनुहुन्छ । ताजा स्थितिमा उहाँ नेकपा एमालेका उम्मेदवार केशव स्थापितभन्दा ५ हजारभन्दा बढी मतले अगाडि हुनुहुन्छ ।
बालेनसंगै एमालेबाट उपमेयर बन्नुभएकी सुनिता डंगोलले पनि लोकप्रिय मत पाउनुभएको छ । जनता युवाको पक्षमा छन् भन्ने यो सन्दर्भले पनि देखाएको छ । बालेन र डंगोलले पाएको यो मत दलहरुप्रतिको वितृष्णाको संकेत हो ।
उता सुदूरपश्चिको धनगढीमा स्वतन्त्र उम्मेदवार गोपाल हमाल प्रतिद्वन्द्वीलाई निकै पछि पारेर बढिरहनुभएको छ र उहाँले जित्ने प्रबल सम्भावना देखिएको छ ।
काठमाडौं महानगरपालिका प्रमुखका उम्मेदवार बालेन शाह र धनगढी उपमहानगरपालिका प्रमुखका उम्मेदवार गोपाल हमाल अहिलेसम्मको मतपरिणाममा विजयी हुने देखिएको छ ।
त्यसै गरी जनकपुरमा सत्ता गठबन्धनलाई पछिपार्दै स्वतन्त्र उम्मेदवार मनोजकुमार साह अगाडि हुनुहुन्छ भने विराटनगरमा स्वतन्त्र उम्मेदवार उमेश प्रसाद यादवले गठबन्धन र एमालेलाई टक्कर दिइरहनुभएको छ ।
देशमै सबैभन्दा चर्चामा रहेको भरतपुर महानगरपालिकामा जगन्नाथ पौडेलको स्वतन्त्र उम्मेदवारीले पनि संचारमाध्यमका पाना र पर्दाहरु ढाकियो । ताजा स्थितिमा पौडेलले गठबन्धन र नेकपा एमालेका उम्मेदवारलाई टक्कर दिने हैसियतको मत नपाए पनि लोकप्रियता भने पाउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्