मूल्यवृद्धि घटाउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश
सङ्घीय संसद्, राष्ट्रियसभामा पेट्रोलिय पदार्थको मूल्यवृद्धि घटाउन जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गरिएको छ । सांसद देवेन्द्र दाहालले पेश गर्नुभएको सो प्रस्तावलाई सांसद भैरवसुन्दर श्रेष्ठ, विमला घिमिरे, खिमलाल देवकोटा र शेखरकुमार सिंहले समर्थन गर्नुभएको थियो ।
उहाँले ‘खाना पकाउने ग्यास, डिजेल, पेट्रोल, मट्टितेललगायतका अत्यावश्यक वस्तु तथा सेवाको मूल्यवृद्धिले पारेको असर न्यूनीकरणका लागि मूल्य घटाउन यथाशीघ्र पहल गरियोस्’ भन्ने जरुरी सार्वजनिक महत्वको प्रस्ताव पेश गर्नुभएको हो ।
प्रस्ताव प्रस्तुत गर्दै सांसद दाहालले पेट्रोलियम पदार्थको मूल्यवृद्धि मूल्य निर्धारण कार्यविधिविपरीत भएको भन्दै प्रस्ताव समर्थनमा सहयोग गर्न सबै सांसदलाई अपिल गर्नुभयो ।
प्रस्तावमाथिको छलफलमा भाग लिँदै सांसद प्रमिला कुमारीले मूल्यवृद्धिबारे सरकारको ध्यानाकर्षण गराउँदै प्रस्तावमाथि समर्थन गर्नुभयो ।
सांसद जीतेन्द्रनारायण देवले सरकारले पेट्रोल र डिजेलमा रु १० मूल्य घटाएकाप्रति समर्थन गर्दै पेट्रोलिय पदार्थको मूल्य वृद्धिसम्बन्धी भारत सरकारसँग पहल गर्नुपर्नेमा जोड दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्