जलवायु परिवर्तनबाट नेपाल जस्ता देश बढीमात्रामा प्रभावित
प्रधानमन्त्री शेरबहादुर देउवाले वातावरण प्रदूषणले पृथ्वीको तापक्रम बढ्न गई जलवायु परिवर्तन हुँदा संसारभर हिउँ पग्लिने, हिमताल फुट्ने, बाढी, पहिरो जाने, बस्ती डुबानमा पर्नेजस्ता समस्या सिर्जना भएको बताउनुभएको छ ।
विश्व वातावरण दिवसका अवसरमा आज शुभकामना सन्देश जारी गर्दै उहाँले विश्व नै ठूलो वातावरणीय संकटबाट गुज्रिरहेको बताउँदै प्रधानमन्त्री देउवाले यसको असरबाट नेपालजस्ता पर्वतीय, अल्पविकसित तथा विकासशील देश बढीमात्रामा प्रभावित भइरहेका उल्लेख गरेका छन् ।
प्रधानमन्त्री देउवाले जलवायु परिवर्तनले जैविक विविधतामा ह्रास, कृषि प्रणाली र बालीनालीमा विशृङ्खलता, नयाँ रोगव्याधिको उत्पत्ति, वर्षा र तापक्रममा गडबडी तथा प्राकृतिक विपद्बाट जनधनको क्षतिजस्ता गम्भीर र नकारात्मक असर एवं प्रभाव बढेको बताउनुभएको छ ।
वातावरणीय समस्यासँग जुध्नका लागि सरकारले राष्ट्रिय तथा अन्तर्राष्ट्रिय तहमा गर्दै आएका विभिन्न प्रयत्न र प्रतिबद्धतालाई नतिजामा रूपान्तरण गर्न यस दिवसले सम्बद्ध सबैलाई झकझकाउने अपेक्षा प्रधानमन्त्री देउवाले गर्नुभएको छ ।
यस सन्दर्भमा वातावरण संरक्षण तथा जलवायु परिवर्तन व्यवस्थापन राष्ट्रिय परिषद्को प्रभावकारितामा वृद्धि गर्दै सरकारका तीन तहमा थप नीतिगत समन्वय, रणनीतिक मार्गदर्शन तथा कार्यक्रममा तादात्म्य कायम गरेर अघि बढ्न आवश्यक रहेको पनि उहाँले जनाउनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्