राजनीति

पृथ्वीको रक्षा गर्ने महान् लक्ष्यमा निरन्तर अघि बढौं : राष्ट्रपति भण्डारी

राष्ट्रपति विद्यादेवी भण्डारीले जलवायु परिवर्तनका कारण विश्वमा देखा परेका समस्या न्यूनीकरण गर्दै पृथ्वीको रक्षा गर्ने महान् लक्ष्यमा निरन्तर अघि बढ्न सबैमा आग्रह गर्नुभएको छ ।

विश्व वातावरण दिवसका अवसरमा आज स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीलाई शुभकामना व्यक्त गर्दै उहाँले सो आग्रह गर्नुभएको हो ।

राष्ट्रपति भण्डारीको सन्देशमा प्रकृतिको स्वभाविक सन्तुलनमाथि नकारात्मक दबाब उत्पन्न गर्ने मानवीय क्रियाकलापका कारण पृथ्वीको पारिस्थितिक प्रणाली, वर्षाचक्र र जलवायु सन्तुलनमा अस्वाभाविक परिवर्तन आउन थालेको वैज्ञानिक प्रमाण उपलब्ध भएसँगै वातावरण दिवसप्रतिको संवेदनशीलता वृद्धि भएको उल्लेख गरिएको छ ।

सन्देशमा वातावरण संरक्षणको क्षेत्रमा हामीले अन्तर्राष्ट्रिय, राष्ट्रिय र स्थानीयस्तरमा विभिन्न नीति योजना तथा कार्यक्रमहरू निर्माण गरी तिनको कार्यान्वयनका लागि आवश्यक कानुन र संस्थागत संरचनाहरूसमेत निर्माण गरेको उल्लेख गरिएको छ ।

त्यसै गरी उहाँले सन्देशमा भन्नुभएको छ, “नेपाल आफैँ ठूलो मात्रामा कार्बन उत्सर्जन गर्ने राष्ट्र नभएता पनि हाम्रा हिमालहरू पग्लने क्रम बढेको छ, पानीका मूलहरू सुक्दै गइरहेका छन्, हाम्रा नदी र प्राणवायुले प्रदूषणको शिकार हुनु परिरहेको छ । हाम्रोजस्तै अन्य पर्वतीय मुलुकहरूले भोग्नुपरेको सङ्कटको प्रवृत्ति उस्तै छ भने टापु राष्ट्रहरूले सम्भावित अस्तित्वको सङ्कट झेल्नु परिरहेको छ ।”

वातावरण अनुकूलनका कार्यक्रमहरूलाई प्रभावकारी ढंगले अगाडि बढाउनुका साथै शतप्रतिशत हरित वा स्वच्छ ऊर्जाको प्रयोग, विद्युतीय सरसामानको बहुउपयोग तथा इको यातायातको प्रवर्द्धनमा विशेष जोड दिन आवश्यक रहेको सन्देशमा भनिएको छ ।

राष्ट्रपति भण्डारीले भन्नुभएको छ, “हरेक परिवारले उत्सर्जन गर्ने कार्बन र अन्य हरितगृह ग्यासहरू कम गरेका खण्डमा सौर्यमण्डलको सजीव पिण्डका रूपमा रहेको हाम्रो पृथ्वीको पर्यावरण थप बिग्रनबाट रोकिने र मानव अस्तित्व सहजरूपले चलिरहने आशा गर्न सकिने र यसका लागि नगण्य कार्बन उत्सर्जन गर्ने नेपालजस्ता पर्वतीय राष्ट्रले टापु राष्ट्रहरूको समेत साझा आवाज निर्माण गरी अन्तर्राष्ट्रिय मञ्चहरूमा जवाफदेहिता र ठोस प्रतिबद्धताको अभियान चलाउन अत्यावश्यक भइसकेको छ ।”

साथै वायु, जल र भूमि प्रदूषणबाट परिरहेको असरलाई कम गर्न नेपालले हासिल गरेका उपलब्धिलाई सुदृढ गर्नुका साथै विभिन्न द्विपक्षीय एवं बहुपक्षीय मञ्चहरूमा उठान गरेका विषय र व्यक्त गरेका प्रतिबद्धता कार्यान्वयन गर्न आजको दिनले थप उत्प्रेरणा दिनेछ भन्ने विश्वास लिएको सन्देशमा उल्लेख गरिएको छ ।

राष्ट्रपति भण्डारीले वातावरण संरक्षणको गहन अभिभारा पूरा गर्ने काममा संलग्न सङ्घीय वन तथा वातावरण मन्त्रालय, पूर्वाधार विकासमा संलग्न मन्त्रालयहरू, प्रदेश तथा स्थानीय सरकार, सुरक्षा अङ्गहरू, स्थानीय समुदाय, विकास साझेदार एवं सम्बद्ध सबैलाई धन्यवाद दिनुभएको छ ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.