दुई महिनासम्म बन्धक बनाएर बलात्कार
काठमाडौँ बसेर ज्याला मजदुरी गर्दै आइरहेकी पूर्वी चितवनकी एक युवती गत चैत १० गते आफ्नो भाउजुको घर पिप्ले आउने क्रममा बसबाट राति भण्डारा बजारमा ओर्लिनुभयो ।
उहाँलाई एक पुरुषले पिप्ले धेरै टाढा भएको र अर्को दिन बिहानै पुर्याई दिने भन्दै ललाईफकाई आफ्नो घरमा लगे । सोही दिन राति अन्य तीन जनालाई समेत बोलाएर सामूहिक बलात्कार गरे ।
त्यसपछि दुई महिनासम्म एउटा कोठामा बन्धक बनाई जबरजस्ती करणी गरिरहे । अन्ततः पीडितको उजुरीमा हेटौडा उपमहानगरपालिका–९ चौधघरे बस्ने अन्दाजी ४५ वर्षका पूर्ण घलान पक्राउ परे ।
जिल्ला प्रहरी कार्यालय चितवनका प्रवक्ता नरहरि अधिकारीले दिनुभएको जानकारी अनुसार घलानले पूर्वी चितवनको राप्ती नगरपालिका–६ आदर्शटोल स्थित माछापोखरीमा रहेको आफू बस्ने घर कटेरोमा राखेर २७ वर्षीया युवतीलाई दुर्इ महिनादेखि बलात्कार गर्दै आइरहेका प्रहरीमा उजुरी परेपछि पक्राउ गरी कारवाही अघि बढाएको छ ।
दुई महिना भन्दा बढी समयसम्म बन्धक बनाई बलात्कार गरेपछि युवतीमा स्वास्थ्य समस्या देखिएर घलानले स्थानीयको सहयोगमा अस्पताल पुर्याएका थिए । उपचार पश्चात युवतीलाई जेठ २० गते घलानले आफ्नो घरमा ल्याएर छोडेको उहाँको भाउजुले बताउनु भएको छ ।
महिलाले जेठ २४ गते घलानविरुद्ध किटानी जाहेरी दिएपछि जवरजस्ती करणी शिर्षकमा मुद्दा दर्ता गरि वुधबार घलाउनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । चितवन जिल्ला अदालतबाट अनुमति लिई घलानको थप अनुसन्धान भइरहेको छ ।
प्रतिक्रिया राख्नुहोस्