अनधिकृत व्यक्तिसंग साँठगाठ गरेर करमा हेरफेर गर्ने मन्त्रीलाई पदमा बस्ने आधार छैन
अर्थमन्त्री जनार्दन शर्माले बजेट निर्माणका क्रममा अनधिकृत व्यक्तिसंग साँठगाठ गरेर करका दरमा हेरफेर गर्नु गम्भीर अपराध हो भन्दै राजीनामा मागिएको छ ।
मंगलबार प्रतिनिधिसभा बैठकको सुरुमै पूर्व अर्थमन्त्री तथा नेकपा एमालेका सांसद सुरेन्द्र पाण्डेले कर जस्तो गम्भीर विषयमा अनधिकृत व्यक्तिसंग साँठगाठ गर्ने अर्थमन्त्रीलाई पदमा बस्ने नैतिक आधार नभएको बताउनुभयो ।
यस विषयमा नेकपा एमालेले पहिले नै ध्यानाकर्षण गराइसके पनि मन्त्री शर्माले जवाफ दिने दायित्व नै नसम्झेको बताउँदै पाण्डेले सदनको ध्यानाकषण गराउनुभएको थियो ।
उहाँले बोलिसकेपछि एमाले सांसदहरुले होहल्ला गर्दा सदन केहीबेर अबरुद्ध भएको थियो भने सभामुख अग्निप्रसाद सापकोटाले यस विषयमा आफ्नो ध्यानाकर्षण भएको बताएपछि सदन चलेको थियो ।
पूर्व अर्थमन्त्री पाण्डेको भनाई जस्ताको तस्तै-
केही दिनदेखि नेपालका पत्रपत्रिकाहरूले बजेट निर्माणको सिलसिलामा अनधिकृत मान्छेसहितको साँठगाँठका कुराहरू गरेर करका दरहरूमा गरिएको तलमाथिका कुराहरू सार्वजनिक भएका छन् । यस सम्बन्धमा नेकपा एमाले संसदीय दलका तर्फबाट गम्भीरतापूर्वक प्रश्न खडा गरेका थियौं । माननीय योगेश भट्टराईले यसबारेमा दलको सरोकार राखिसक्नुभएको छ ।
तर, मलाई के जानकारी भएन भने यति गम्भीर विषयको यति गम्भीरताका साथ प्रश्न खडा गरिसकेपछि पनि अर्थमन्त्रीले संसदमा आएर यस विषयमा प्रस्ट पार्नुभएन । यो ज्यादै आपत्तिजनक कुरा हो ।
यसबारेका विभिन्न सांसदले रोस्टममा उभिएर बजेटकै छलफलमा हामीले राखेका थियौं । मलगायत धेरै माननीय सदस्यज्यूहरूले, स्वयम् सत्तापक्षका सांसद कतिपयले पनि यसबारेमा गम्भीर चासो व्यक्त गरिसक्नुभएको छ ।
अर्थ मन्त्रालयभित्रको अभ्यास के हुने गर्छ भने त्यहाँ बजेटभन्दा एक दिन अगाडि अर्थ मन्त्रालयका कर्मचारीबाहेक कसैलाई प्रवेश दिइँदैन । करका विषयमा छलफल हुँदा मन्त्रीलाई बाहेक अरुलाई टेलिफोन दिने प्रचलन हुँदैन । सचिवसमेत अन्य कर्मचारीको टेलिफोन बन्द गरेर दराजमा लक गरेर राखिसकेपछि छलफल गरिन्छ । यो प्रचलन रहँदै आएको छ ।
तर, एउटा पत्रिकाले लेख्यो, अर्थमन्त्रीजीले अपरिचित व्यक्तिलाई अर्थ मन्त्रालयमा डाँक्नुभो र मन्त्रालयका सचिवसहित विभिन्न व्यक्तिहरू जो सरोकारवाला व्यक्तिलाई राखेर करविज्ञ उहाँहरू हुनुहुन्छ, उहाँहरूले भनेअनुसार गर्नु भनेर उहाँले निर्देशन दिनुभो ।
खासगरी स्टिल वायरहरूमा नेपालका स्टिल उद्योगहरूले प्राप्त गरिरहेका सुविधाहरू कटौती गरेर त्यसमा अन्त:शुल्कहरू बढाइदिएको, जसको कारणले हाम्रो निर्यात एकदमै सुक्दै गएका कुराहरू आएका छन् । त्यसैगरी घ्यू-तेलका उद्योगहरूले कच्चा पदार्थमा १० प्रतिशत कर तिर्थे, १५ प्रतिशत तयारी वस्तुमा कर तिर्थे । तर, केही चाउचाउ र बिस्कुट उद्योगका लागि भनेर ५ प्रतिशतमा झारेर स्वयम् देशका घ्यू-तेल निर्यात गरेर झण्डै ८६/८७ अर्ब नेपालको आम्दानी गरेको, निर्यात बढाए भनेर अर्थमन्त्रीले जे भनिरहनुभाथ्यो, ती उद्योगहरूलाई पनि टाट पल्टाउने ढंगले यो बजेटमा आएको छ ।
यसैगरी सेनिटरी प्याडको बारेमा धेरै चर्चा भएको छ । मैले हेरेँ, ७ वटा वस्तु एउटा सेनिटरी प्याडका लागि आवश्यक पर्दो रहेछ । त्यसमध्ये र्यापरमा २० प्रतिशत भन्सार वृद्धि गरिएको छ र अन्तःशुल्कमा ५ प्रतिशत वृद्धि गरिएको छ । अरू केही प्रडक्टहरूमा खासगरी फ्रप पल भन्नेमा ५ प्रतिशत भन्सार लगाइएको छ ।
एवम् प्रकारले टोटल्लीमा साढे ७ प्रतिशत भन्सार लगाएर आयात गरेको फिनिस्ड गुडमा ९० प्रतिशत छुट दिने र नेपालका उद्योगहरूलाई सुकाउने गरी साढे ७ प्रतिशत भन्सार कर लगाउने जुन नीतिअनुसार उहाँले लगाउनुभाछ यो कस्तो किसिमको संलग्नता र साँठगाँठमा भएको हो ? यसको जानकारी चाहियो संसदलाई ।
त्यसकारण म अहिले के भन्न चाहन्छु भने यति गम्भीर प्रश्न उठेपछि अर्थमन्त्री त्यो पदमा बस्नका लागि नैतिक रुपमा सक्षम हुनुहुन्छ ? लायक हुनुहुन्छ र? यसको जवाफ संसदलाई चाहिन्छ ।
म प्रधानमन्त्रीको पनि ध्यानाकर्षण गराउन चाहन्छु कि यति गम्भीर प्रश्नमा प्रधानमन्त्रीले यसको जवाफदेहिता लिनुपर्छ कि पर्दैन् ? यो केवल अर्थमन्त्रीको मात्र विषय हो कि के हो ? यसको जानकारी संसदलाई चाहिन्छ । नेकपा एमालेका तर्फबाट यो कुरालाई हामी गम्भीरतापूर्वक उठाएका छौं ।
देशमा खासगरी करको विषय ज्यादै गोपनीय विषय हो । राष्ट्रिय सुरक्षाजस्तै विषय हो । राष्ट्रिय स्वार्थको विषय हो । यस्ता गोपनीयताहरू बाहिर सार्वजनिक गर्ने, गोपनीयताहरूमा साँठगाँठ र मिलेमतो गर्ने जस्ता विषयहरू गम्भीर अपराध मानिन्छन् । त्यसबारेमा छानबिन हुनुपर्दछ र संसदले यसबारेमा कदम चाल्नुपर्दछ । यसको जवाफ हामी चाहन्छौं । मन्त्रीले नैतिक रुपमा त्यो जिम्मेवारीमा बस्न मिल्दैन भन्ने मलाई लाग्छ । हाम्रो दलबाट पनि हामी यो कुरा भन्न चाहन्छौ ।
प्रतिक्रिया राख्नुहोस्