बिचार

बालेन बल : प्रभावित क्षेत्रका वासिन्दाका लागि

काठमाडौं महानगरपालिकाको मेयरमा निर्वाचित भएपछि बालेद्र (बालेन) साहले गरेका काम र निर्णयलाई जनताको असिम सहयोग रहेको देखिन्छ, साथै व्यापारिक क्षेत्रबाट समेत उनको कार्यमा हातेमालो गरिएको छ । यसको ज्वलन्त उदाहरण हो “सार्वजनिक शौचालय” ।

अहिलेको बालेनको उच्च प्रयास र प्राथमिकतामा परेको विषय फोहोर व्वस्थापन रहेको छ । हालै हेटौंडाको एक कार्यक्रममा “महानगरलाई गाली गरेकोले कार्यक्रम छाडेर” आए सँगै “गाली होइन साथको आवश्यकता जरुरी छ” भन्ने सन्देश दिनु पर्दछ र त्यस्तो सन्देश लिनु पनि पर्दछ ।

अहिले फोहरका कारण काठमाडौं, काठमाडौंबासी र काठमाडौंका जनप्रतिनिधिलाई यहीं काठमाडौंमा बसेर नाम, दाम, मान कमाएकाहरु गाली गर्छन्, यसमा उनीहरुमा मानवता कति देखिएको हो र राजनीतिक स्वार्थ कति त्यो भविष्यले देखाउने नै छ ।

तर, यसअघिका जस्तै झाराटर्ने काम अब रोकिनुपछए । काठमाडौंको फोहर स्वीकार्ने बञ्चरेडाँडा र सिसडोल बासिन्दाका लागि तत्कालै गर्नैपर्ने काम र यसका लागी महानगरवासी र यहाँ संचालित विभिन्न व्यवसायीहरुको साथ सहयोगका लागि बालेनले सार्वजनिक रुपमा आव्हान गर्नुपर्दछ ।

फोहोर काठमाडौं महानगरको मात्र समस्या होइन, महानगर बाहिरका अरु नगरपालिका र भक्तपुर तथा ललितपुरका साथै यहाँका वासिन्दा, व्यवसायी सबैको साझा समस्या हो । यसैकारण सर्वसाधारणले कुहिने र नकुहिने फोहोर छुटाएर रचनात्मक भुमिका खेली यो समस्या समाधान गर्न महत्वपूर्ण साथ मानिने छ ।

त्यस्तै बञ्चरेडाँडा र सिसडालबासीका लागि राजधानीमाा रहेका साना ठूला हरेक व्यवसायीले तत्कालै केही गर्न सकिने क्षेत्रहरु प्रशस्तै रहेका छन् । उपत्यकामा व्यवसाय गरेर फोहर बढाउनेमा उनीहरु पनि एक पात्र भएकाले सम्बन्धित क्षेत्रका जनताको हितमा केही काम गर्नु उनीहरुको धर्म पनि हाे ।

जस्ताे कि- स्वास्थ्य सेवा संचालन सम्बन्धि व्यवसाय गरेकाहरुले निःशुल्क परिक्षण एवं उपचार उपलब्ध गराउने । शैक्षिक क्षेत्रबाट निःशुल्क शिक्षा प्रदान गरिदिने । त्यस्तै वित्तीय संस्था वा अन्य निकायले जीवन विमा, पशु विमा तथा भौतिक विमा निःशुल्क गरिदिन सक्छन् ।

त्यस्तै काठमाडौंभित्र रहेका व्यावसायिक तथा व्यापारिक र औद्योगिक क्षेत्रले आफूलाई चाहिने जनशक्ति पूर्तिका लागि त्यहाँका स्थानीयलाई प्राथमिकता दिने हो भने आफूले गरेको फोहर स्वीकारेका स्थानीयको ऋण तिरेको बराबर पनि हुनेछ । यसका लागि पनि बालेनले सहकार्यको हात अघि बढाउनुपर्छ, सार्वजनिक शौचालय जस्तै ।

सिसडोल र बञ्चरेडाँडाको जनसंख्या अनुसार एउटा संघ संस्थाले कति जनालाई कुन कुन क्षेत्रमा, कति समयको लागि, के के शर्तहरुमा निःशुल्क सेवा वा रोजगारी दिने हो किटान गरी पारदर्शी हिसावले विशेष परिचय पत्र प्रदान गरी महानगरको प्रत्यक्ष संलग्नतामा यो विशेष कार्यक्रम गरिनु हितकारी हुनेछ ।

यी काम गर्न नसकिने हैनन्, अहिलेसम्म नभएको प्रतिबद्धताको कमीले हो । शासकवर्गका यही कमजोरीको फाइदा फोहरमाथि पनि राजनीति घुसेर केही मुट्ठीभरका लागि निरन्तर दुहुनो गाई बनिरहेको छ ।

काठमाडौंमा बसेर बञ्चरेडाँडा र सिसडोलको फोहरको नाममा कमाउनेहरुको पछि नलाग्ने गरी फोहर विसर्जन गर्ने स्थानलाई स्वस्थ र स्वच्छ वातावरण बनाउँदै त्यहीबाट पनि आयआर्जनको स्रोत विकास गर्ने गरी काम गरिएमा फोहर त मोहर पो रैछ भन्ने भावनाको विकास हुनेछ ।

यत्ति कुराका लागि बालेनको सार्वजनिक आव्हानले आम नागरिकमा सकारात्मक सन्देश जानेछ । महानगरवासी र प्रभावित क्षेत्रका वासिन्दाविचको सौहार्दतामा वृद्धि हुनसक्छ ।

आव्हान गरेर मात्र पुग्दैन, यसको कार्यान्वयनको लागि महानगरले दुरदर्शिता अपनाई आफ्नै संलग्नता र विज्ञको राय सल्लाह लिई यस कार्यलाई अगाडी बढाइयो भने देशभर यसले छुट्टै तरंग समेत ल्याउनेछ ।

यस किसिमको सहयोग वा सेवा लिंदा वा दिदा पछि कुनै विवाद नआओस, राजनितिकरण नहोस् भनी सबै पक्षले राम्रोसँग गृहकार्य गर्नुपर्ने हुन्छ ।

यो कार्यले मात्र दिगो रुपमा फोहोरको व्यवस्थापनको समाधान गर्ने होईन तर तत्काल गर्नुपर्ने मानवताको यो कार्य सफल भएमा बालेन सहित महानगरवासी सफल हुनेछन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.