२ करोड घूस प्रस्ताव काण्ड : छानबिनका लागि समिति गठन, अधिवक्तासंग बारको स्पष्टिकरण
अर्बौ रुपैयाँ ठगीको आरोपमा थुनामा रहेका इच्छाराज तामाङलाई धरौटीमा रिहा गरिदिए २ करोड दिने र यसको सबैतिर कुरा मिलाउने प्रस्तावको अडियो सार्वजनिक भएपछि यसमा छानबिन गर्न समिति गठन गरिएको छ ।
बुधबार न्यायपरिषदको आकस्मिक बैठकले काठमाडौं जिल्ला अदालतका न्यायाधीश राजकुमार कोइरालामाथि छानबिन गर्न समिति बनाएको हो ।
न्यायपरिषदका सदस्य एवं वरिष्ठ अधिवक्ता रामप्रसाद श्रेष्ठको अध्यक्षतामा गठित समितिमा उच्च अदालत पाटनका न्यायाधीश महेश पुडासैनी र महेश शर्मा पौडेल सदस्य रहनुहुनेछ ।
समितिलाई ४५ दिनभित्र प्रतिवेदन बुझाउन भनिएको न्याय परिषदका प्रवक्ता एवं सहसचिव मानवबहादुर कार्कीले जानकारी दिनुभयो । बैठकले न्यायाधीश कोइरालालाई न्याय सम्पादनमा पनि रोक लगाएको छ ।
न्यायाधीश राजकुमार कोइरालाले आफूले घुस खाने नियत नराखेको दावी गर्नुभएको छ । उहाँले यस विषयमा कुराकानी गर्न अधिवक्ताले फोन गरेका र आफूले कुरै गर्न नचाहेको बताउँदा कुरा त सुन्नु भन्दै कर गरेपछि कुरा मात्र सुनेको बताउनुभएको छ ।
यसबीच न्यायाधीशलाई दुई करोड घूस प्रस्ताव गर्ने नेपाल बार एशोसिएसनका पूर्व कोषाध्यक्ष एवं अधिवक्ता रुद्र पोखरेललाई स्पष्टिकरण सोध्ने निर्णय गरेको छ ।
बारको आजको बैठकले उनलाई पोखरेललाई स्पष्टीकरण सोध्ने निर्णय गर्दै उपस्थित हुन म्याद जारी गरेको एक सदस्यले जानकारी दिनुभएको छ ।
प्रतिक्रिया राख्नुहोस्