राप्रपा होमियो आन्दोलनमा, चरणबद्ध कार्यक्रम सार्वजनिक
राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)ले यही असार १३ गतेदेखि ३१ गतेसम्म चरणबद्ध आन्दोलनका कार्यक्रम सार्वजनिक गरेको छ । पार्टीले मूल्यवृद्धि, मल अभाव लगायत जनजीविकाका विषयलाई लिएर आन्दोलन गर्न भएको हो ।
आन्दोलनका कार्यक्रम अन्तर्गत धर्ना, कोणसाभा, राँके जुलुस लगायतका कार्यक्रम रहेका छन् । यसअघि राप्रपाले यिनै विषय समेटेर प्रधानमन्त्री शेरबहादुर देउवालाई २२ बुँदे ज्ञापनपत्र बुझाएको थियो ।
पार्टीका उपाध्यक्ष एवं आन्दोलन परिचालन समितिका संयोजक बुद्धिमान तामाङको अध्यक्षतामा बसेको बैठकले जनजीविकाको आन्दोलनलाई निरन्तरता दिने निर्णय गरेको हो ।
राप्रपाका प्रवक्ता मोहन श्रेष्ठका अनुसार किसानको मागअनुसार रासायनिक मलको आपूर्ति हुन नसकेकाले असार १३ गते ७७ वटै जिल्लाका कृषि ज्ञान केन्द्रमा धर्ना तथा कोणसभा गर्ने निर्णय भएको छ ।
यसै गरी प्रधानमन्त्रीलाई बुझाएको ज्ञापनपत्रका विषय सम्बोधन हुनुपर्ने माग राखी असार १७ गते ७७ वटै जिल्लाका सदरमुकाममा राँके जुलुस गर्ने निर्णय पनि भएको छ ।
आन्दोलन परिचालन समितिको बैठकले असार १९ गते पार्टीसँग आबद्ध ट्रेड युनियनको नेतृत्वमा श्रमिकको उचित ज्याला निर्धारण र श्रमिकको जीवन बिमा लगायतका माग सहित श्रममन्त्रीलाई ज्ञापनपत्र बुझाउने निर्णय गरेको छ ।
असार २४ गते भ्रष्टाचार नियन्त्रण र भ्रष्टाचारीलाई कारबाहीको माग गर्दै ७७ वटै जिल्लाका जिल्ला प्रशासन कार्यालयमा धर्ना दिने र कोणसभा गरिने राप्रपाले जनाएको छ ।
असार २७ गते राष्ट्रिय प्रजातान्त्रिक विद्यार्थी संगठनको नेतृत्वमा पाठ्यपुस्तक अभाव हटाउन माग गर्दै जनक शिक्षा सामग्री केन्द्रमा र कक्षा १२ सम्मको शिक्षालाई निःशुल्क हुने व्यवस्थालाई कडाइका साथ कार्यान्वयन गराउन माग गर्दै उच्च माध्यमिक शिक्षा परिषदमा ज्ञापनपत्र बुझाउने कार्यक्रम तय भएको छ ।
यसैगरी असार ३१ गते राष्ट्रिय प्रजातान्त्रिक महिला संगठनको नेतृत्वमा महिला हिंसा विरुद्ध राष्ट्रिय महिला आयोगमा धर्ना दिइने कार्यक्रम राखिएको छ ।
प्रतिक्रिया राख्नुहोस्