राजनीति

बालेन र धनराजबीच नीति, योजना र बजेटका विषयमा छलफल

मुलुकका दुई प्रमुख महानगरपालिका काठमाडौँ महानगरपालिकाका प्रमुख बालेन्द्र साह र पोखरा महानगरका प्रमुख धनराज आचार्यबीच भेटवार्ता भएको छ ।

काठमाडौँ महानगरपालिका कार्यालयमा मङ्गलबार उहाँहरुबीच भेटवार्ता भएको हो । भेटका अवसरमा बजेट निर्माण, राजस्व सङ्कलन तथा अन्य समसामयिक विषयमा छलफल भएको बताइएको छ ।

यसै गरी पोखरा महानगर प्रमुख आचार्यले मङ्गलबार नै काठमाडौँमा राष्ट्रिय आविष्कार केन्द्रका अध्यक्ष महावीर पुनसँग पनि भेटवार्ता गर्नुभएको छ । आविष्कार केन्द्रमा आविष्कार भएका सामग्री पोखराको हितमा कसरी प्रयोग गर्न सकिन्छ भन्ने विषयमा छलफल भएको थियो ।

“आविष्कार केन्द्रका अध्यक्ष पुनसँगको भेटमा उहाँहरुका उत्पादनलाई हामीले कसरी उपयोग गर्न सक्छौँ । महानगरको हित हुने उपकरणको विषयमा जानकारी मागेका छौँ । उहाँले रचनात्मक सुझाव दिनुभएको छ”, प्रमुख आचार्यले भन्नुभयो ।

यसैबीच देशका छवटै महानगरका प्रमुख र प्रमुख प्रशासकीय अधिकृतको भेला पोखरामा हुने भएको छ । पोखरा महानगरको आयोजनामा आगामी साउन पहिलो साता भेला आयोजना गरिएको छ ।

भेलामा प्रदेश सरकार र केन्द्र सरकारसँगको सम्बन्ध महानगरपालिका प्रमुखहरूबीच अनुभव आदान–प्रदान र विविध योजनाका विषयमा छलफल हुने पोखरा महानगर प्रमुख धनराज आचार्यले बताउनुभयो । उहाँले भन्नुभयो, “हामीले साउनको पहिलो हप्ता पोखरामा भेला आयोजना गरेका छौँ । सबै आउने निश्चित भइसकेको छ ।”

भेलाले महानगरबीच अनुभव आदान–प्रदानमा सहयोग पुग्ने र विकास निर्माणलगायत सङ्घ र प्रदेश सरकारसँगको सम्बन्धलाई अझ कसरी अगाडि बढाउने भन्ने विषयमा पनि छलफल हुने आचार्यले जानकारी दिनुभयो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.