अर्थ

उत्पादन भए भारतलाई बिजुली बेचेर धनी हुन सकिने रहेछ

२८ दिनमा भारतलाई विद्युत् बेचेर नेपालले १ अर्ब ७२ करोड २९ लाखभन्दा बढी नेपाली रुपैयाँ आम्दानी गरेको

दशकौं अघिदेखि नेपालका नेताहरुले भारतलाई बिजुली बेचेर मुलुक समृद्ध बनाउने सपना बाँड्दै आएका भए पनि त्यो सपना अहिले आएर विस्तारै साकार भएको छ ।

पछिल्लो समय नेपालले भारतमा सीमित मात्रामा विजुली निर्यात गर्न थालेको छ । विगत २८ दिनमा मात्र विद्युत निर्यातबाट मुलुकले पौने दुई अर्ब रुपैयाँ कमाएको छ ।

यो तथ्यांकलाई हेर्दा पर्याप्त मात्रामा विद्युत उत्पादन भएर भारतले सहज रुपमा खरीद गर्ने हो भने नेपालको अर्थतन्त्र छिटै उकासिने देखिएको छ । किनभने २८ दिनमा भारतलाई विद्युत् बेचेर नेपालले १ अर्ब ७२ करोड २९ लाखभन्दा बढी नेपाली रुपैयाँ आम्दानी गरेको छ।

नेपाल विद्युत् प्राधिकरणले अट्ठाइस दिनमा १७८.१९१ मिलियन युनिट बिजुली निर्यात गरेको र बिजुलीको उक्त परिमाण औसतमा ९.६७ रुपैयाँ प्रति युनिटमा विक्री गरिएको जनाएको छ ।

प्राधिकरणका प्रवक्ता सुरेशबहादुर भट्टराईले विजुली बेचेर आएको यो रकम प्राधिकरणको खातामा कर कटाएर आएको रकम हो ।

नेपालले भारतलाई ३६४ मेगावाट विद्युत् निर्यात गर्न पाउने व्यवस्था छ। त्यसमा कहिलेकाहीँ फ्रिक्वेन्सी हेरेर कुनै इभेन्टका बेला ४८ मेगावाट अतिरिक्त पठाउने गरेको छ । नेपालले सरदरमा निर्यात गर्न पाउने सीमाको पूर्ण क्षमतामा विद्युत् बेचिरहेको छ।

नेपालले जेठ १९ गतेबाट भारतको ऊर्जा बजारमा प्रतिस्पर्धा गरेर विद्युत् बेचिरहेको छ जसका लागि प्रत्येक दिन १० देखि १२ बजेसम्म समय तोकिएको हुन्छ ।

बजारको मागका आधारमा तय हुने मूल्य उक्त दिनको राति १२ बजेदेखि भोलिपल्ट १२ बजेसम्म लागु हुन्छ।

हाल नेपालले भारतलाई बिजुली बेचिरहेको भए पनि विविध समस्याका कारण वर्षैभरि दक्षिणी छिमेकीबाट विद्युत् खरिद गर्नुपर्ने बाध्यता नेपालको छ ।

एकै दिनमा १० करोडसम्मको बिजुली भारतलाई बेच्दा समेत सुदूरपश्चिममा टनकपुरबाट ४० देखि ५० मेगावाट विद्युत् खरिद गर्नुपर्ने बाध्यता छ ।

सुदूरपश्चिम क्षेत्रमा उत्पादित विद्युत्‌ले त्यस क्षेत्रको माग पूरा नगर्ने हुँदा नेपालको पूर्वी क्षेत्रबाट उत्पादित बिजुली त्यहाँसम्म पुर्‍याउँदा त्यसको भोल्टेज एकदमै कम हुने अवस्था छ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.