शाहवंशीय राजाको उद्गमथलो लमजुङ दरबार संरक्षणको पर्खाइमा
नेपालमा शाहवंशीय राजाको उद्गम थलोका रुपमा चिनिएको लमजुङ दरबार संरक्षणको अभावमा जीर्ण बन्दै गएको छ । सोह्रौँ शताब्दीमा निर्माण भएको बेंसीसहर नगरपालिका वडा नं ३ गाउँसहरमा रहेको उक्त दरबार संरक्षण तथा मर्मत नहुँदा दिन प्रतिदिन जीर्ण बन्दै गएको हो ।
समुद्री सतहदेखि एक हजार ४४५ मिटर उचाइमा रहेको उक्त दरबारलगायत अन्य पुराना संरचना पनि बेवास्ताको सिकार भइरहेको छ । विभिन्न काल खण्डमा धेरै दरबार बने। बाइसेचौबिसे राज्यका बेला गोरखा दरबार, पाल्पा दरबार, नुवाकोट दरबार, भक्तपुर दरबार हुँदै बसन्तपुरसम्मका नयाँ–नयाँ दरबार बनेका थिए ।
ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्वका दरबारको उत्तिकै महत्व रहँदा पनि एतिहासिक लमजुङ दरबार भने अझैसम्म ओझेलमै छ । शाहवंशीय राज्यकालको उद्गमथलो लमजुङ हो भने त्यसैको विरासत हो लमजुङ दरबार ।
कास्कीकोटका राजा कुलमण्डलका माइला छोरा कालु शाहलाई विसं १५४० मा लमजुङका खजेदुरा, सुकराम क्याउसा, माघे दुरा, कुश्माखर घिमिरे र लक्ष्मण दुराले लमजुङको पहिलो चौबिसे राज्यका राजा बनाएका थिए । त्यसको केही समयमै लमजुङमा शासनको बागडोर सम्हालेका तत्कालीन घले राजाका सेनाले कालु शाहको हत्या गरिदिएको इतिहासमा उल्लेख छ ।
सो घटनापछि उनीहरुले नै कुलमण्डलका कान्छा छोरा यशोबह्म शाहलाई पुनः कास्कीकोटबाट ल्याएर राजकाज अघि बढाएका थिए । उनलाई १५ असार रविबारका दिन १५ घडीको सिंह लग्नमा विसंं १५५० मा राजगद्दीमा बसाइएको शिलालेखमा उल्लेख छ ।
उनकोे मृत्युपछि उनका जेठा छोरा नरहरि शाह विसं १५९८ मा राजा भए । उनीपछि क्रमशः चुडा शाह १६४५, अचित शाह १६६२, नरेन्द्र शाह १६९३, केहरिनारायण शाह १७३३, भीम शाह १७९४, रीपुमर्दन शाह १७९८ र बीरमर्दन शाहले १८०२ देखि १८३९ सम्म गरी नौ पुस्ताले उक्त दरबारबाट शासन चलाएका थिए । लमजुङको अन्तिम राजा वीर शाह थिए । विसं १८३९ कात्तिक १९ गतेसम्म शाह वंशले लमजुङ दरबारमा राजा भएर राजगद्दी सम्हालेको स्थानीयवासीले बताए । शाहवंश राजा आएपछिसमेत धेरै समयसम्म घले राजा रहेको जानकारको भनाइ छ ।
त्यतिबेलाको पश्चिम नेपालको लमजुङ–कास्की क्षेत्रमा फैलिँदै गएका हिन्दू धर्मावलम्बी खसआर्य समुदाय र लमजुङका खजे दुरालगायत दुराहरुको पहलमै लमजुङमा घले राजाको सट्टामा अर्को राजा बनाइएको स्थानीय जानकार देवबहादुर गुरुङले बताउनुभयो । शाहवंश आउनुअघि यहाँ घलेराजाले राजकाज चलाउँथे ।
नरहरि राजा भएका बेला यशोबह्माका छोराले झगडा गरेपछि कान्छा छोरा द्रव्यशाह राइनासकोटको गोठमा बसेका थिए । उनी लमजुङ दरबारमै हुर्किएपछि उक्त गोठमा बस्दै आएका थिए । पछि १६१६ सालतिर गोरखाको लिगलिगकोटको दौडमा जितेपछि उनले लिगलिगकोट र माझकोट कब्जा गरी गोरखा राज्य खडा गरेर राजकाज चलाएका थिए। द्रव्यशाहको ११औँ पुस्ता पृथ्वीनारायण शाह रहेको बताइन्छ ।
पृथ्वीनाराण शाहले बाइसे–चौबिसे राज्यलाई एकीकरण गरी अखण्ड नेपाल बिस्तारको अभियान थाले । विभिन्न राज्य कब्जा गरे पनि लमजुङ भने स्वतन्त्र थियो । विसं १८३९ मा पृथ्वी नारायण शाहको बुहारी राजेन्द्रलक्ष्मी शाहको पालामा लमजुङ नेपाल राज्यमा गाभिएको जानकारको भनाइ छ ।
सो बेला गोरखा र लमजुङको तार्कुघाटमा लडाईं हुँदा लमजुङले हारेपछि नेपाल राज्यमा गाभिएको थियो । यस्तो महत्व र तत्कालीन राज्यकालका थुप्रै ऐतिहासिक उतारचढावको साक्षीका रुपमा रहेको लमजुङ दरबार दिनप्रतिदिन जीर्ण बन्दै गइरहेको छ ।
पानी पर्दा दरबारको छानाबाट पानी भित्रै चुहिने गरेको स्मारक संरक्षण तथा दरबार हेरचाह कार्यालयका एक कर्मचारीले बताए । विसं २०७२ वैशाख १२ गतेको विनाशकारी भूकम्पले पनि दरबारको पुतली गारोलगायत अन्य भागमा क्षति पु¥याउँदा पनि मर्मत गरिएको छैन । विभिन्न समयका सरकार र राज्यका सम्बन्धित निकायले दरबारको उचित मर्मतसंहार, संरक्षण, संवद्र्धन र प्रवद्र्धन गर्न नसकेको स्थानीयवासी एवं बेंसीसहर नगरपालिका–३ का पूर्ववडाध्यक्ष सूर्यकुमार श्रेष्ठले बताउनुभयो ।
राज्यको बेवास्तामा परेकाले र आवश्यक प्रचारप्रसार नहुँदा सो दरबारको ऐतिहासिक, पुरातात्विक र पर्यटकीय महत्वसमेत नामेट हुने अवस्थामा पुगेको उहाँको गुनासो थियो । दरबारको हेरचारका लागि बसेका प्रहरीले प्राय सबै कोठा भत्किएको दरबारको छानोमा प्वालैप्वाल परेकाले जुनसुकै बेला पनि भत्किनसक्ने अवस्थामा पुगेको बताए ।
त्यस्तै लमजुङ दरबारको शिरमा पुरानोकोट गढी रहेको छ । सो गढी क्षेत्रमा बसोबासका भग्नावशेष, मठमन्दिर, त्यतिबेला प्रयोग गरेका ढिकीको ओखल, जाँतो, सिलौटोजस्ता सामग्री अहिले पनि देख्न पाइन्छ ।
मन्दिर र ढिकी, जाँतो राजाका सेनाले सुरक्षा दिने भवन यतिबेला भग्नावषेश अवस्थामा रहेको छ । उक्त दरबारमा राजा भएका शाहवंशीय राजाका फोटो र केही सामग्री गृहयुद्धका बेला तत्कालीन माओवादीले जलाएर नष्ट पारिदिएको उक्त हेरचार कार्यालयले जनाएको छ ।
दरबार परिसरको द्वार एवं पदमार्ग नगरपालिकाले निर्माण गरिरहे पनि दरबारको संरक्षण र मर्मत भने सम्बन्धित निकायको विशेष जिम्मा हुने बेँसीसहर नगरपालिका प्रमुख गुमानसिंह अर्यालले बताउनुभयो ।
उहाँले भन्नुभयो, “हामीले यसका लागि बेलाबेलामा सम्बन्धित निकायमा पहल गरेका छौँ तर जति संरक्षण तथा मर्मत हुनुपर्ने थियो हुन नसक्दा जीर्ण बन्न पुगेको छ । सोह्र रोपनी क्षेत्रफलमा लमजुङ दरबार रहेको छ ।”
प्रतिक्रिया राख्नुहोस्