एकादेशको कथा जस्तो बन्न पुगेको तोरी पेल्ने मिल
कुनै समयमा रातभर जाग्रम बसेर तोरी पेलिन्थ्यो । बोराका बोरा तोरी पेल्न बिहानदेखि रातिसम्म खटिनुपथ्र्यो तर अहिले तोरी पेल्ने काम एकादेशको कथा जस्तो बन्न पुगेको छ ।
विसं २०३२ मा करिब रु ४० हजार लगानी गरी सदरमुकाम दमौलीमा तोरी मिल सञ्चालन गर्ने व्यास नगरपालिका–४ का आशकुमार श्रेष्ठको गुनासो यस्तै छ ।
अन्य महिनामा बीस÷पच्चीसजना मानिस दैनिक तोरी पेल्न आउने गरे पनि वर्षायाममा मुस्किलले दुई/तीन जना हुने गरेको सञ्चालक श्रेष्ठ बताउनुहुन्छ ।
युवा जनशक्ति वैदेशिक रोजगारीमा, छोरीबुहारी छोराछोरी पढाउन सहरमा र बुढाबुढी मात्रै गाउँ रहेका कारण तोरी खेतीतर्फ आकर्षण कम भएको उहाँको भनाइ छ ।
पहिला पहिला बिहानदेखि रातिसम्म ८/९ मुरी तोरी पेल्नको लागि चार जनशक्ति राख्ने गरिएकामा अहिले मुस्किलले दुई जना छन् । सञ्चालन श्रेष्ठ भन्नुहुन्छ, “भएका दुई कर्मचारीलाई पनि पारिश्रमिक दिन कठिनाइ भएको छ ।”
पछिल्लो समय तोरीका साथै गहुँ,मकैलगायत पनि पिस्ने गरिएको छ । गाउँ–गाउँमा मिल सञ्चालनमा रहेका कारण पनि सदरमुकामसम्म तोरी पेल्न आउनेको सङ्ख्या घट्दै गएको हुन् ।
प्रतिक्रिया राख्नुहोस्