प्रदेश नं १ का मुख्यमन्त्री राजेन्द्रकुमार राईले स्वास्थ्य मापदण्ड पालना गर्ने र गराउने गरी व्यवस्थित रथयात्राको प्रबन्ध गर्न प्रदेश नं १ स्थित सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभएको छ ।
प्रदेश नंं १ को धार्मिक तथा सांस्कृतिक परम्पराको रथयात्रा यस वर्ष कोभिड सङ्क्रमणलाई ख्याल गरेर छोटो समयमा सम्पत्र गर्न उहाँले रथायात्रा व्यवस्थापन समिति र सुरक्षा प्रमुखहरूलाई निर्देशन दिनुभएको हो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज रथयात्रा तथा सञ्चालन हुने स्थानबारे जानकारी लिएपछि मुख्यमन्त्री राईले परम्परा पनि कायम हुने र नागरिकको स्वास्थ्य पनि जोखिम नहुने गरी रथयात्राको व्यवस्थापन गर्न आग्रह गर्नुभयो ।
विराटनगरमा हरेक वर्ष श्रीकृष्ण जन्माष्टमीको भोलिपल्ट भव्य रथयात्रा हुने गर्दछ । उक्त रथयात्रामा लाखौँको सङ्ख्यामा नेपाल र भारतका भक्तजन सहभागी हुने गर्छन् ।
यस वर्ष कोभिड सङ्क्रमणलाई ख्याल गर्दै झाँकी बाहेकको रथयात्रा निकाल्ने तयारी राधाकृष्ण मन्दिर व्यवस्थापन समितिले गरेको छ ।
छलफलमा नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रदेश नं १ प्रमुखसहित मोरङ जिल्लास्थित सुरक्षा अधिकारीहरू उपस्थिति रहेको मुख्यमन्त्री राईका प्रेस सल्लाहकार बन्धु पोखरेलले जानकारी दिनुभयो ।
प्रतिक्रिया राख्नुहोस्