निर्वाचनमा सबैभन्दा बढी दल मधेस प्रदेशमा हुने
आगामी मङ्सिर ४ गते एकै चरणमा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचन २०७९ मा सहभागी हुने दलको सङ्ख्या सबैभन्दा बढी मधेस प्रदेशमा देखिएको छ ।
निर्वाचन प्रयोजनका लागि मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलका आधारमा सो प्रदेशमा वढी देखिएको हो ।
आयोगबाट भएको राजनीतिक दल दर्ता, निर्वाचन चिह्न प्रदान र निर्वाचन चिह्नको क्रम निर्धारणअनुसार सो प्रदेशमा ६७ दलका निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी सहभागी हुने दलको सङ्ख्या ७५ कायम भएको छ ।
यसै गरी प्रदेश नं १ मा ६२ दलका चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी ७०, बागमती प्रदेशमा ६४ दलका चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी सहभागी हुने दलको सङ्ख्या ७२ हुने आयोगका सहप्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिनुभयो ।
यस्तै गण्डकी प्रदेशमा ५८ निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी सहभागी हुने दलको सङ्ख्या ६६, लुम्बिनी प्रदेशमा ६० दलका चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी सहभागी हुने दलको सङ्ख्या ६८ रहेको छ ।
त्यसै गरी कर्णाली प्रदेशमा ५६ दलका चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी सहभागी हुने दलको सङ्ख्या ६४ र सुदूरपश्चिम प्रदेशमा ५६ दलका चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी सहभागी हुने दलको सङ्ख्या ६४ रहने गरी आयोगले बिहीबार निर्णय गरेको छ ।
आयोगले निर्वाचन प्रयोजनार्थ दल दर्ताका लागि तोकिएको समयावधिभित्र प्रतिनिधिसभा सदस्य निर्वाचन प्रयोजनको लागि ८० वटा दल दर्ता निवेदन र एकल चुनाव चिह्न लिई निर्वाचनमा भाग लिने प्रयोजनका लागि चार निवेदन गरी जम्मा ८४ (चौरासी) वटा निवेदन प्राप्त हुन आएको छ ।
राजनीतिक दलहरूबाट दर्ता हुन आएका निवेदनलगायत अन्य कागजातको अध्ययन र जाँचबुझ गर्दा जम्मा ७९ वटा दलका निर्वाचन चिह्नमध्येबाट मतपत्रमा कायम रहने गरी जम्मा सहभागी हुने दलको सङ्ख्या ८७ कायम गरेको छ ।
प्रतिक्रिया राख्नुहोस्