हात्तीको आक्रमण बढ्दैछ, रोक्ने उपाय के ?
मार्ग अतिक्रमणमा परेका कारण हात्ती मानवीय वस्तीमा पस्ने र बितण्डा मच्चाउने गरेको
नेपालमा जङ्गली हात्तीको आक्रमणबाट वर्षेनी सयौं नागरिकको ज्यान जाने गरेको छ । गत वर्ष मात्र विभिन्न जिल्लामा हात्तीको आक्रमणबाट १ सय ९५ जनाको मृत्यु भएको छ ।
हात्तीको आक्रमणबाट पछिल्लो समय यही भदौ १३ गते कञ्चनपुरको शुक्लाफाँटा नगरपालिका–७ की १८ वर्षीया मीना जोशीको ज्यान गयो । घरनजिकै हात्ती देखेपछि भाग्ने क्रममा बाँसको झाडीमा हात्तीले जोशीलाई आक्रमण गरेको थियो ।
वर्षेनी जङ्गली हात्तीको आक्रमणबाट नागरिकको अकालमै ज्यान गएको भए पनि मानवीय क्षति न्यूनीकरण गर्नका लागि हात्ती नियन्त्रणको उपाय नखोजिएको हात्ती पीडितको आरोप छ ।
संरक्षित क्षेत्र (निकुञ्ज–आरक्ष) र नजिकको बस्ती क्षेत्रमा हात्तीको आक्रमणबाट पछिल्लो १७ वर्षमा कम्तीमा दुई सयको मृत्यु भएको पाइएको छ । निकुञ्ज–आरक्ष रहेकोभन्दा बाहिरका जिल्लामा हात्तीको आक्रमणबाट धेरै मानिसको मृत्यु हुने गरेको राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागले जनाएको छ ।
विभागका अनुसार हालसम्म झापामा मात्रै ३७ को मृत्यु भएको छ । यसैगरी बर्दियामा ३५, चितवनमा २०, सप्तरी र बारामा १३–१३, सर्लाहीमा १२, पर्सामा ११, सुनसरी र उदयपुरमा नौ/नौ धनुषा र सिन्धुलीमा आठ/आठ मोरङमा सात, सर्लाही र रौतहटमा छ/छ, मकवानपुरमा तीन र कञ्चनपुरमा यही भदौ १३ गते एकको ज्यान गएको छ ।
राष्ट्रिय निकुञ्ज तथा वन्यजन्तु संरक्षण विभागका सूचना अधिकारी डिलबहादुर पुर्जापुनका अनुसार पछिल्ला वर्षमा हात्ती, बाघ र गैँडालगायत वन्यजन्तुको आक्रमणबाट मृत्यु हुनेको सङ्ख्या बढ्दै गएको छ ।
यसरी ज्यान गुमाउने व्यक्तिका परिवारलाई राहतस्वरुप रु १० लाख दिने नीतिगत व्यवस्था गरिएको भए पनि हात्ती नियन्त्रणको उपायमा भने ध्यान पुग्न सकेको छैन ।
घाइते हुने व्यक्तिहरका साथै बाली र घरगोठमा क्षति पुगेका परिवारलाई पनि १० देखि ३० हजारसम्म क्षतिपूर्तिको व्यवस्था गरिएको छ । मानवीय बस्तीमा पसेर पटक–पटक वितण्डा मच्चाएकामध्ये अहिलेसम्म विभिन्न स्थानमा आठ वटा हात्तीको घाँटीमा रेडियो कलर जडान गरेर सरकारले तिनीहरुको आउजाउ अनुगमन गरिरहेको सूचना अधिकारी पुर्जापुनले बताउनुभयो ।
हात्तीका लागि उपयुक्त बासस्थान पछिल्लो समय विभिन्न कारणले खण्डीकृत हुँदै गएको तथा हात्ती हिँड्ने बाटो (करिडोर) कृषिकर्म, सहरको विस्तारलगायतका कारण अतिक्रमणमा परेका कारण जङ्गली हात्ती मानवीय वस्तीमा पस्ने र बितण्डा मच्चाउने गरेको अनुमान गरिएको छ ।
सरकारले अघि बढाएको पूर्व–पश्चिम विद्युतीय रेलमार्ग, विद्युत् प्रसारण लाइन, सिँचाइ, सडक विस्तार लगायतले बासस्थान खल्बलिएपछि हात्तीको ओहोर–दोहोरमा समस्या आएको बिज्ञहरुको बुझाइ छ ।
प्रतिक्रिया राख्नुहोस्