चिकित्सकलाई पक्राउ पूर्जी जारी भएपछि सामूहिक राजीनामा
कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानका मेडिकल अफिसर डा करण साहविरुद्ध बालहिंसा गरेको आरोपमा पक्राउ पूर्जी जारी गरिएपछि पक्राउ पूर्जी फिर्ताको माग गर्दै स्वास्थ्यकर्मीहरूले सामूहिक राजीनामा दिएका छन् ।
यसअघि इमर्जेन्सी बाहेकका सबै सेवा तथा अध्ययन अध्यापन ठप्प पारेका स्वास्थ्यकर्मीले बुधबार उपकुलपतिसमक्ष राजीनामा पत्र बुझाएका हुन् ।
प्रतिष्ठानका फ्याकल्टी वेलफेयर कमिटी अध्यक्ष सूर्यमान लिम्बुले डा. साहलाई झुटो ओरोपमा जारी गरिएको पक्राउ पूर्जी फिर्ता हुनुपर्ने र दोषीलाई कारबाही गरी पीडितलाई न्याय दिलाउनुपर्ने मागसहित सामूहिक राजीनामा दिएको बताउनुभयो ।
उता नेपाल मेडिकल काउन्सिलले भने उपचारको क्रममा भएका कुनै पनि घटनाका बारेमा काउन्सिलको अनुसन्धान समितिले काम कारबाही गर्ने भएकाले आरोपितलाई पक्राउ पूर्जी वा मुद्दा दर्ता नगर्न आग्रह गरेको छ ।
जिल्ला अदालत जुम्लाले अनुसन्धानका लागि भन्दै प्रतिष्ठानका मेडिकल अफिसर साहविरुद्ध पक्राउ पूर्जी जारी गरेको छ । डा साहमाथि यही भदौ २ गते प्रतिष्ठानकै प्रशासनतर्फका कर्मचारी धनबहादुर शाहीले इमर्जेन्सी कक्षमा कुटपिट गरेका थिए ।
प्रतिक्रिया राख्नुहोस्