प्रेमगीत–३ ले खोलेको त्यो ढोका (फोटोहरुसहित)
कोरोना भाइरस संक्रमण नहुँदो हो त नेपाली चलचित्र प्रेमगीत–३ दुई वर्षअघि नै प्रदर्शन भएर बक्सामा थन्किसक्थ्यो । नेपालका बारेमा र नेपाली चलचित्रका बारेमा भारतभर यतिधेरै चर्चा र प्रशंसा हुने थिएन ।
कोरोनाले नेपाली चलचित्रका लागि नयाँ ढोका खोल्ने काम गर्यो । २०७७ चैत्र २७ गते प्रदर्शनको मिति तोकेर छायांकन गरिएका चलचित्र ‘प्रेमगीत–३’ कोरोना महामारीसंगै अन्तर्राष्ट्रिय बजारको ढोका खोल्न सफल भयो ।
तर, यो सजिलो र सहज भने भएन । नेपाल र भारतमा नेपाली भाषा र हिन्दी भाषामा एकसाथ प्रदर्शनको प्रयास गर्दा जेजस्ता विवाद र झमेला अनि आरोप–प्रत्यारोपहरु भए यसले नेपाली मानसिकतालाई पनि उजागर गरिदियो ।
एउटा युवा निर्माता नेपाली चलचित्रको अन्तर्राष्ट्रिय जगतमा प्रवेशको मार्ग खन्दै गर्दा नेपालमा जेजसरी र जेजस्ता विषय उठाएर बिरोध गरियो, अबरोध सिर्जना भयो तर परिणाम भने यसको ठीक विपरीत रह्यो । भारतमा ‘प्रेमगीत–३’ को नतिजा यति उत्कृट रह्यो कि विदेशमा नेपाल र नेपालीको चर्चाले शिखर चुम्यो ।
चलचित्र फगत मनोरञ्जनको साधन मात्र हैन, यो धर्म, संस्कृति, इतिहास र प्राकृतिक सुन्दरताको प्रचार गर्ने एउटा सशक्त माध्यम पनि हो । अहिलेसम्म बनेका नेपाली चलचित्रले यो काम प्रभावकारी रुपमा गर्न सकेको थिएन तर ‘प्रेमगीत–३’ ले यो काम गर्न सफल भयो ।
प्रेम गीत ३ लाई अहिलेसम्म दिइरहे दर्शकले साथ
कोरोना संक्रमणका कारण उत्पन्न बन्दाबन्दीको अवस्थाले चलचित्र प्रदर्शन गर्न नसकिने भएपछि डिब्बामा थन्किएर राख्नुको साटो भारतीय बजार खोज्ने जमर्को गर्दै हिन्दी भाषामा स्वराङ्कन गरेर नेपाल र भारतसहित विश्वका विभिन्न मुलुकमा एकसाथ प्रदर्शन गरिएको चलचित्रले यो आलेख तयार पार्दासम्म विश्वव्यापी रुपमा ३५ करोडको हाराहारीमा व्यापार गरेको बताइन्छ । भारतमा पनि यसको कमाईलाई लिएर समीक्षकहरुले आश्चर्य मानेका छन् ।
सयौं करोडको लागतमा बन्ने हिन्दी चलचित्रको तुलनामा दुबै भाषामा गरेर लगभग ११ करोडमा निर्माण भएको ‘प्रेमगीत–३’ को व्यापार उत्साहजनक रह्यो । भारतीय दर्शकहरु यो चलचित्रलाई लिएर आश्चर्यचकित भएका छन् । समीक्षकहरुले चलचित्रको समग्र पक्षमाथि मिश्रित समीक्षा गरे पनि दृश्याङ्कन र छायाङ्कन स्थलको भने मुक्त कण्ठले प्रशंसा गरेका छन् ।
चलचित्रको कथा, कलाकारहरुको प्रस्तुति, पटकथा र संवादका विषयहरु समीक्षकको विश्लेषणीय क्षमता अनुसारको प्रस्तुति हुनु अस्वाभाविक हैन । कसले कुन कुरालाई उच्च प्राथमिकता दिएर विश्लेषण, मूल्यांकन वा परीक्षण गर्छ त्यसै आधारमा आफ्नो धारणा सार्वजनिक गर्ने हो ।
कुनै पनि कुरा आफैंमा शतप्रतिशत हुँदैन । ‘प्रेमगीत–३’ का पनि अपूर्णता अवश्य छन् । तर, यसले जे दिन खोजेको थियो र यसका लागि जेजस्तो मेहेनत गरिएको थियो त्यो भने पूर्ण छ । माइनस २७ डिग्री तापक्रममा मान्छे पुर्ने हिउँमाथि गरिएको छायांकन नै यसको सवल पक्ष हो । यही दृश्य भारतभर चर्चाको शिखरमा छ ।
भारत लगायत विश्वका ठूला चलचित्र उद्योगमा यस्ता दृश्यहरु ‘हरियो पर्दा’मा चिखेर पछि ‘भिडियो इफेक्ट’द्वारा प्रस्तुत गरिन्छ । तर ‘प्रेमगीत–३’ ले नेपालको प्राकृतिक सुन्दरलाई कडा मेहेनतका साथ सक्कली दृश्य देखाएर विश्वभरका चलचित्र प्रेमीमात्र हैन निर्माताहरुलाई समेत नेपालमा छायांकनका लागि आकर्षित गरेको छ ।
भारतीय दर्शकहरुले यो चलचित्र हेरेपछि यस्तै टिप्पणी गरिरहेका छन् । हाम्रो छिमेकी मुलुक नेपालमै यति सुन्दर दुृश्य छ भने हिन्दी चलचित्र छायांकनका लागि किन स्वीजरल्याण्ड वा अन्यत्र जाने, अब नेपालमै जानुपर्छ भन्दै सुझाव दिइरहेका छन् ।
यति मात्र हैन चलचित्रका माध्यमले मनाङको पर्यटन व्यवसायलाई यति धेरै प्रचार गरेको छ कि यसको नतिजा भविष्यमा देखिनेछ । ‘प्रेमगीत–३’ का कारण मनाङमा अब हिमाली दृश्यावलोकनका साथै ‘आईस स्की’को समेत सम्भावना बढेको छ ।
‘प्रेमगीत–३’ को हिन्दी संस्करणलाई नेपाली चलचित्र सरह सुविधा दिनुपर्ने निर्माणपक्षको माग भएपछि कतिपयले यसलाई राष्ट्रघाती समेत भन्न भ्याए । तर, अहिले यही चलचित्रका माध्यमबाट नेपालको पर्यटनको निःशुल्क प्रचार भैरहँदा ती व्यक्ति वा अधिकारीहरु मौन बसेका छन् ।
इष्र्याको कुनै ओखती हुँदैन । ‘प्रेमगीत–३’को हकमा यही भयो । नेपाली र हिन्दी भाषाको समेत गरेर अहिलेसम्म नेपाली चलचित्रमा सबैभन्दा बढी कमाई गर्ने चलचित्र बनिसकेको छ । भारतमा पनि र नेपालमा पनि यो चलचित्र अहिले पनि भीडभाडका साथ प्रदर्शन भैरहेको छ, दर्शकहरुले पूर्ण साथ दिएका छन् । केही सीमित व्यक्तिको बिरोध वा आलोचनाले चलचित्रको गति रोकिएको छैन ।
चलचित्रको व्यापारिक सफलता वा असफलता भन्दा पनि एउटा नेपालीले राष्ट्रका लागि दिएको ठूलो योगदानका रुपमा यसलाई हेर्नुपर्ने हुन्छ । करोडौं खर्च गरेर पनि नहुने नेपालको पर्यटकीय क्षेत्रको विज्ञापन यसले निःशुल्क गरिदिएको छ ।
फाट्टफुट्ट मात्र विदेशी चलचित्रको छायांक हुने नेपाल उनीहरुका लागि सुन्दर, सक्कली प्राकृतिक दृश्यका लागि नेपाल उपयुक्त थलो हो र जस्तो चाह्यो त्यस्तै दृश्य पाइन्छ भन्ने सन्देश ‘प्रेमगीत–३’ ले दिएको छ । यही नै चलचित्रको पूर्ण सफलताको मानक हो ।
प्रतिक्रिया राख्नुहोस्