खेल

सुदूरमा उदाएका कुस्तीका अब्बल महिला खेलाडी

सुदूरमा कुस्तीका महिला खेलाडी उदाएका छन् । यसलाई जारी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताले पुष्टि गरेको छ । दश स्वर्णमध्ये सात स्वर्ण जित्ने महिला खेलाडी सुदूरपश्चिमका रहेका छन् । यसले सुदूरपश्चिम महिला कुस्तीको उर्वर भूमि भएको पुष्टि गरेको छ ।

नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताअन्तर्गत नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा भएको कुस्ती खेलअन्तर्गत महिलातर्फको प्रतियोगितामा सुदूरपश्चिम प्रदेशको भूगोलका सात महिला खेलाडीले स्वर्ण पदक प्राप्त गरेका छन् ।

सातवटा प्रदेश र तीन विभागीय टिमसहित दश समूह प्रतिस्पर्धामा रहँदा सुदूरपश्चिम प्रदेशबाट प्रतिस्पर्धामा सहभागी पाँच र नेपाल आर्मीबाट सहभागिता जनाएका दुई जना, जो सुदूरपश्चिम भूगोलका रहेका थिए । उनीहरूले स्वर्ण पदक जितेका हुन् ।

नेपालको भूगोलमा सूदुरलाई विकट मानिन्छ । सङ्घीय राजधानीबाट कयौँ माइल पर, दूरदराजको पहिचान बोकेको सुदूरले अर्को पहिचान बनाउन कसिएको छ । कुस्तीको उर्वर क्षेत्रको रुपमा देशभर चिनाउने काम यति बेला सुदूरपश्चिमका महिला खेलाडीले गरेका छन् ।

सो प्रदेशबाट प्रतिनिधित्व गरेका ५० केजी तौल समूहबाट दमन्ती बोहोरा, ५३ केजीतर्फ मनिषा सिंह, ५५ केजीतर्फ सङ्गीता धामी ५९ केजीतर्फ कोमल खत्री र ७२ केजीतर्फ हेमा भट्टले स्वर्ण जिते ।

आर्मीले पाँच स्वर्ण जित्दा ६५ केजीतर्फ निर्मला जागरी र ६८ केजीतर्फ मीरा आउजीले स्वर्ण पदक प्राप्त गरे । यी दुवै महिला खेलाडीसमेत सुदूरपश्चिमकै भूगोलका हुन् । यसरी नवौँ राष्ट्रिय खेलकुद प्रतियोगितामा सुदूरपश्चिमबाट कुस्तीको गर्विलो उपस्थिति भएको छ ।

स्वर्ण पदक विजेता सिंहले भन्नुभयो, “सुदूरपश्चिमलाई पदक दिलाएर चिनाउन पाउँदा धेरै खुसी लागेको छ, पहिला कुस्ती खेल्न भनेपछि कोही आउँथेनन्, अब सुदूरमा थप उत्प्रेरणा जाग्ने विश्वास छ ।” अभ्यासका लागि आवश्यक संरचना नहुँदा आफूहरूलाई कठिन हुने गरेको सम्झँदै उहाँले भन्नुभयो, “खेल्नलाई ठाउँको व्यवस्था छैन, हामी अभ्यास गर्न समेत राम्रोसँग पाउँदैनौँ, यो मेडल जितेपछि, अब पूर्वाधार विकासमा सरोकारवाला लाग्छन् भन्ने आशा छ ।”

अभ्यासका लागि हलसम्म नभएर कार्यालय कोठामा खेल खेल्नुपरेको बाध्यता सम्झँदै धामीले भन्नुभयो, “अब सबैको सहयोग आवश्यक छ, सुदूरपश्चिमलाई महिला कुस्तीले देशभर चिनाउनेछ, धेरै खेलाडी बढ्ने छन्, तर आवश्यक वातावरण तयार पार्नुपर्नेछ ।”

सुदूरपश्चिमको नाम कुस्तीमार्फत देशभर चिनाउन महिला खेलाडीको भूमिका ठूलो रहेको सुदूरपश्चिम प्रदेशका टिम कोचका रुपमा रहनु भएका नरेन्द्र खत्रीले बताउनुभयो । सुदूरपश्चिमबाट महिला कुस्तीमा सहभागिता राम्रो हुँदै गएको उहाँले बताउनुभयो ।

परिवारको सहयोगनै महिला खेलाडी उत्पादनको पहिलो आधार भएको उहाँ बताउनुभयो । “हामीकँहा महिलालाई घरको कामसँग जोड्ने गरिन्छ, अझ सुदूरमा आँफै विचार गनुहोस्, ठूलो मिहिनेत लागेको छ, परिवारको सहयोग पनि उत्तिकै छ, नत्र छोरीलाई सहजरुपमा हत्तपत्त कसैले पठाउँदैनन्”, उहाँले भन्नुभयो, “हिजो छोरी कुस्तीमा लागि भनेर पिर गर्ने पनि छन्, राष्ट्रिय मेडल पाउँदा पक्कै खुसी हुनेछन् ।”

सुदूरपश्चिमा खेलका गतिविधि कम हुने, भए पनि प्रचारप्रसार नहुने, खेल्ने अखडा पनि नभएको क्षेत्रमा महिला खेलाडी उत्पादन गर्न धेरैको मिहिनेत परेको कोच खत्रीले बताउनुभयो । भारतका कुस्ती प्रशिक्षण केन्द्रमा गएर शिप सिकेर सुदूरमा सिकाउँदै जाँदा अहिले यो अवस्थामा आइपुगेको उहाँको भनाइ छ ।

“हामीले टिम बनायौँ, मेहनेत ग¥यो, सुदूरमा प्रचार पनि थिएन, खेलहरु पनि हुन्थेनन् , खेल्ने अखडा पनि थिएन, कुस्ती भनेको मधेसमा खेल्ने खेल भन्ने थियो ।

हामीलाई सुदूरलाई पनि त यो खेलबाट चिनाउन सकिन्छ भन्ने लाग्यो, चासो जाग्यो, खेलाडी जम्मा गर्न लाग्यौँ”, कोच खत्रीले भन्नुभयो, “भारतको पटियालासम्म पुगेर कुस्तीका विधि सिकेर आयौँ, सुदूरमा शिक्षा दिन लाग्यौँ, आज यो परिणाममा पुगेको छ ।”

कुस्तीका लागि आवश्यक संरचना नभएकामा उहाँले गुनासो गर्नुभयो । सुदूरपश्चिबाट राष्ट्रियस्तरका कुस्तीका महिला खेलाडी उत्पादन भइरहेकाले भोलि अन्तर्राष्ट्रियस्तरका प्रतियोगितमा समेत सहभागिता जनाउन सक्ने भएकाले सरकारले सुदूरपश्चिमा खेलको विकासका लागि थप ध्यान दिनुपर्ने उहाँले बताउनुभयो ।

उहाँले भन्नुभयो, “सुदूरपश्चिममा खेलका संरचना छैन, राज्यले सुदूरमा खेलको विकासका लागि लगानीमा खासै ध्यान दिएको छैन, हामी आफैँले खेलाडीको मनोबल बढाउँदै हिँडेका छौँ, अब राज्यको ध्यानसमेत जान आवश्यक रहेको छ ।”

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.