साहित्य

विकलको ९४औँ जन्मजयन्तीमा बाल प्रतिभाहरु पुरस्कृत

नेपाली भाषा साहित्यका अमर आख्यानकार रमेश विकलको ९४औँ जन्मजयन्ती विविध कार्यक्रम गरी मनाइएको छ । सो अवसरमा विकलको जन्मगाउँ आरुवारीचोकमा रहेको उहाँको सालिकमा माल्यार्पण सहित बाल प्रतिभाहरुलाई पुरस्कृत गरिएको छ ।

विकल जयन्तीका अवसरमा रमेश विकल साहित्य प्रतिष्ठानले आज आयोजना गरेको कार्यक्रममा गोकर्णेश्वर नगरपालिकाका नगर प्रमुख दीपक रिसाल, नेपाल ललितकला प्रज्ञा प्रतिष्ठानका कुलपति कान्छाकुमार कर्माचार्य, नेपाल प्रज्ञा प्रतिष्ठानका निमित्त सदस्य सचिव हेमनाथ पौडेललगायतले सालिकमा माल्यार्पण गर्नुभएको हो ।

सो अवसरमा प्रतिष्ठानको कार्यालय परिसरमा रहेको विकलको सालिकमा पनि माल्यार्पण गरिएको थियो । कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख रिसाल, ललितकला प्रतिष्ठानका कुलपति कर्माचार्य, प्रज्ञा प्रतिष्ठानका निमित्त सदस्य सचिव पौडेल, विकल प्रतिष्ठानका अध्यक्ष रोचक घिमिरे, महासचिव विजय चालिसे, अरुणिमा विद्यालयका प्रधानाध्यापक ईश्वरीप्रसाद लामिछानेलगायतले विकलले नेपाली आख्यान, चित्रकला र समाजसेवा क्षेत्रमा पुर्याउनुभएको योगदानको चर्चा गर्नुभयो ।

सो अवसरमा अभिनव साहित्य समाजले आयोजना गरेको स्थलगत कविता लेखन प्रतियोगिता र नव अरुणिमा विद्यालयले आयोजना गरेको स्थलगत चित्रकला प्रतियोगिताका विजयी विद्यार्थीलाई पनि पुरस्कार प्रदान गरिएको थियो ।

सामाजिक यथार्थवादी आख्यानकार विकलको जन्म विसं १९८५ कात्तिक २९ गते भाइटीकाका दिन भएको थियो । विसं २००६ मा शारदा मासिकमा गरिब कथा प्रकाशनपछि उहाँ नेपाली आख्यान क्षेत्रमा प्रवेश गर्नुभएको हो ।

साहित्यकार विकलले ‘नयाँ सडकको गीत’ कथा सङ्ग्रहका लागि २०१९ सालको मदन पुरस्कार प्राप्त गर्नुभएको थियो । साहित्यकार विकलले आफ्नो जीवनकालमै प्रतिष्ठानको स्थापना गर्नुभएको हो ।

छोरा विजय चालिसे र महेन्द्र चालिसेको प्रस्तावमा पाँच आना जग्गामा बनेको पुख्र्यौली घर प्रतिष्ठानका लागि दान दिइएको छ । विसं २०६५ पुस २ गते विकलको निधन भएको थियो ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.