जन सरोकार

कागजी सम्बन्ध विच्छेदले रोकेन पतिप्रतिको माया

सम्बन्ध विच्छेद गरेर अलग बसेपछि पति—पत्नीको सम्बन्ध वैधानिक रुपमा समाप्त भए पनि शास्त्रीय विधि र मान्यता अनुसार त्यो सम्बन्ध कायमै रहन्छ । यस्तै सन्देश दिनुभउको छ मेचीनगर नगरपालिका–७ की सीता खड्काले ।

उहाँले सम्बन्ध विच्छेद गरेका पतिको मृत्यु संस्कार (काजकिरिया) गरेर पति–पत्नीको सम्बन्ध कागजले टुटाउन नसक्ने सन्देश दिनुभएको छ ।

उहाँका पति भानुभक्त बस्नेतको ४८ वर्षको अल्पायुमै वैदेशिक रोजगारीको क्रममा संयुक्त अरब इमिरेट्सको दुबईमा गत असोज ८ गते मृत्यु भएको थियो । गत असोज २९ गते बस्नेतको शव मेचीनगर–१४ दुहागढीस्थित साहिँला भाइको घरमा आइपुगेको थियो । सोही दिन कनकाई आर्यघाटमा उहाँको दाहसंस्कार भएको थियो ।

पूर्वपतिलाई अन्तिम श्रद्धाञ्जली दिन सात वर्षीय छोरा प्रतिश बस्नेत र १६ वर्षीया छोरी जेनिशा बस्नेतलाई साथमा लिएर खड्का आर्यघाटमा जानुभयो । त्यसपछि उहाँ छोराछोरीसँगै मेचीनगर–७ इट्टाँभट्टास्थित आफ्नै निवासमा १३ दिने काजकिरिया बारेर बस्नुभयो ।

तीन दिनअघि १३ दिने काजकिरिया पूरा गर्नुभएकी खड्काले कागजी सम्बन्ध विच्छेदले पतिप्रतिको माया र श्रद्धा कहिल्यै नघटेको बताउनुभयो । उहाँले आफू सम्बन्ध विच्छेदको पक्षमा कहिल्यै नरहेको तर पतिकै जोडबलमा सम्बन्ध विच्छेदको कागजमा सहीछाप गरिदिएको जानकारी दिनुभयो ।

एक वर्षअघि सम्बन्ध विच्छेद गरेपश्चात बस्नेतले दोस्रो विवाह गरे पनि दोस्री पत्नीले केही महिनामै छाडेर हिँडेकी थिइन् । “मदिराको कुलतमा लागेर उहाँले मलाई कुटपिट गर्नुहुन्थ्यो, तै पनि म कहिल्यै सम्बन्ध विच्छेदको पक्षमा थिइन”, खड्काले भन्नुभयो, “कान्छीले पनि केही महिनामै छाडेर हिँडेपछि उहाँ मेरो माइती घरमा बारम्बार आइरहनुहुन्थ्यो । मैले उहाँलाई सुध्रिएर आउनुहोस्, सँगै बसौँला भन्ने गरेको थिएँ ।”

यसैबीच वैदेशिक रोजगारीका लागि बस्नेत दुबई जानुभयो । असोज ८ गते उहाँले आत्महत्या गरेको दुःखद् खबर आएको थियो । पूर्वपति बस्नेतको मृत्यु भएपछि खड्काले आफूले पालनपोषण गर्दै आएका छोराछोरीसँगै साइला देबरको घरमा बसेर काजकिरिया बार्ने सोच बनाए पनि देबर, देउरानी र नन्दहरूले दिएनन् ।

“झगडा हुने भएपछि आफन्तहरूको सल्लाह बमोजिम म, छोरा र छोरीले अलग्गै किरिया बार्ने काम गर्यौ, साइला देवरले अलग्गै बार्नुभयो” ।

खड्काले भन्नुभयो, “ऐले डिभोर्स दे, भरे डिभोर्स दे भनेर हैरान पारेपछि मैले दिक्क भएर उहाँ (पूर्वपति)ले ल्याएको कागजमा सहीछाप गरेकी हुँ । मेरो मनभित्र श्रीमानप्रति पहिले जत्तिकै आस्था, श्रद्धा र माया थियो ।”

उनीहरूको छोरा प्रतिश कक्षा २ मा र छोरी जेनिशा कक्षा १० मा पढिरहेका छन् । सम्बन्ध विच्छेदपश्चात छोराछोरीको लालनपालन खड्का (आमा)ले नै गरिरहनुभएको छ । पूर्वपतिको १३ दिने काजकिरिया हिन्दू धार्मिक विधि र परम्पराबमोजिम गर्नुभएकी खड्कालाई आफन्त र छरछिमेकीले धन्यवाद दिने गरेका छन् ।

प्रतिक्रिया राख्‍नुहोस्

सम्बन्धित खबर

Back to top button

Adblock Detected

Please turn off the Ad Blocker go get the website work properly.