निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता सबैले पालना गरौँ : आयुक्त डा तुलाधर
निर्वाचन आयुक्त डा जानकी तुलाधरले निर्वाचन आचारसंहिता पालना गर्न आग्रह गर्नुभएको छ । आचारसंहिता उल्लघङ्न गर्ने उमेदवारको उम्मेदवारीसमेत खारेजी हुनसक्ने भन्दै उहाँले आयोगले जारी गरेको आचारसंहिता पालना गर्न सबै राजनीतिक दल र उम्मेदवारलाई आग्रह गर्नुभयो ।
राष्ट्रिय समाचार समिति (रासस) को सहकार्यमा निर्वाचन आयोगले आज कर्णाली प्रदेशको राजधानी सुर्खेतमा आयोजना गरेको मिडिया अभिमुखीकरण कार्यक्रममा आयुक्त डा तुलाधरले आगामी मङ्सिर ४ गते हुने निर्वाचन दुईवटा कुरामा केन्द्रीत रहेको बताउनुभयो ।
डा तुलाधारले भन्नुभयो, “पहिलो त निर्वाचनलाई निष्पक्ष बनाउन निर्वाचन आचारसंहिता पालना गराउनु हो, अर्को मतदाता शिक्षालाई जोड दिएका छौँ ।”
सञ्चार माध्यमले गत स्थानीय तहको निर्वाचनमा निर्वाह गरेको भूमिकाको प्रशंसा गर्दै उहाँले प्रदेशसभा र प्रतिनिधिसभा निर्वाचनमा पनि त्यतिकै भूमिकाको अपेक्षा गरिएको बताउनुभयो ।
“सञ्चारमाध्यम भनेको महत्वपूर्ण कडी हो”, उहाँले भन्नुभयो, “मतदाता शिक्षामा सञ्चारमाध्यमको भूमिका महत्वपूर्ण छ, निष्पक्ष निर्वाचन बनाउन आयोग र सञ्चारमाध्यमको सहकार्य पनि उत्तिकै आवश्यक छ ।”
आयोगले अहिले मतदाता शिक्षालाई जोड दिएको भन्दै आयुक्त तुलाधरले मतदाता शिक्षा र आचारसंहिता पालनामा सबै सरोकारवालाको दायित्वभित्र पर्ने बताउनुभयो । मिथ्या सूचनालाई निस्तेज पार्न मिडियाको साथ आयोगलाई चाहिएको उहाँको भनाइ छ ।
राससका महाप्रबन्धक सिद्धराज राईले निर्वाचनलाई स्वच्छ, निष्पक्ष र भयरहित वातावरणमा सम्पन्न गर्नको लागि मिडियाको महत्वपूर्ण भूमिका रहने बताउनुभयो ।
उहाँले निर्वाचनको समयमा पत्रकारले आचारसंहिता उल्लङ्घनका विषय उजागर गर्नुका साथै पत्रकार स्वयंले पनि आचारसंहिता पालनामा ध्यान दिनुपर्ने बताउनुभयो ।
उहाँले निर्वाचनका बेलामा उम्मेदवारका गतिविधि र मतदाता शिक्षालाई विशेष जोड दिएर अगाडि बढ्न पत्रकारलाई आग्रह गर्नुभयो ।
मुख्य निर्वाचन अधिकृत विष्णुप्रसाद अर्यालले आचारसंहिता पालनाका विषयमा सबैलाई झक्झकाउन सञ्चारमाध्यमलाई आग्रह गर्नुभयो । मिडियाले समेत तथ्यलाई तलमाथि पारेको हुनसक्ने भन्दै सूचनाप्रवाह गर्दा तथ्यपरक हुनुपर्ने बताउनुभयो ।
मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका निमित्त सचिव आनन्द सारुले राज्य सञ्चालन प्रणालीलाई बलियो बनाउनका लागि निर्वाचनले ठूलो महत्त्व राख्ने बताउनुभयो ।
प्रमुख जिल्ला अधिकारी खगेन्द्रप्रसाद रिजालले सबै राजनीतिक दलले कर्तव्यबोध गरेर निर्वाचन आयोगद्वारा जारी भएको आचारसंहितालाई पूर्णरूपमा कार्यान्वयन गरेको खण्डमा निर्वाचन सहज हुने बताउनुभयो ।
कार्यक्रममा निर्वाचन आयोगका प्रवक्ता शालिग्राम शर्माले निर्वाचनको बेलामा मिथ्या सूचना, दुष्प्रचारलाई रोक्न पत्रकारले मुख्य भूमिका खेल्नुपर्ने औँल्याउनुभयो ।
प्रतिक्रिया राख्नुहोस्