नक्कली फेसबुक खोलेर महिलाको चरित्रहत्या गर्ने पक्राउ
प्रहरीको साइबर ब्यूरो काठमाडौँले नक्कली फेसबुक आइडी बनाएर महिलाको चरित्रहत्या गर्ने व्यक्तिको खोजी तीव्र पारेको छ ।
सोही क्रममा ब्यूरोले उक्त आपराधिक क्रियाकलापमा संलग्न सप्तरीको सुरुङ्गा नगरपालिका–१ बस्ने १९ वर्षीय सुमीतकुमार थापालाई पक्राउ गरेको छ ।
उनलाई आज जिल्ला अदालत काठमाडौँमा पेस गरिएकामा अदालतको अनुमतिले सात दिनको म्याद थप गरी अनुसन्धान थालिएको ब्यूरोका उपनिर्देशक, प्रहरी उपरीक्षक भाग्येन्द्रपुरुष ढकालले जानकारी दिनुभयो ।
उनले नक्कली फेसबुक बनाई पीडित र अन्य अपरिचित महिलाको अश्लील तस्बिर र शब्द लेखेर पोष्ट गरेको पाइएको प्रहरीले जनाएको छ ।
फेक आइडीको म्यासेन्जरबाट थापाले पीडितको आफन्तहरुले प्रयोग गर्ने फेसबुकमा म्यासेज पठाएर बदनाम गरी चरित्र हत्या पनि गरेको पाइएको प्रहरीले जनाएको छ । उनलाई विद्युतीय कारोबार ऐन, २०६३ अनुसार कारबाही प्रक्रिया अघि बढाइएको छ ।
प्रतिक्रिया राख्नुहोस्