मतदाताबाट आए-पाएको प्रतिक्रिया
गुण्डा गुण्डी र रक्सीका जीवन्त पर्याय, प्रतीक वा विम्व बनेका व्यक्तिको नेतृत्वको जिल्ला भनिन्थ्यो कास्की जिल्लालाई । तर त्यो उहिले र अहिले सबैले भन्ने गरेको शब्दको “निरंकुश निर्दलीय शासनकाल”को कुरा थियो । त्यो व्यवस्थामा त्यस्तैको दबदबा थियो । त्यस्तै नै रा.प.स. बन्ने र माननीय भनेर त्यस्तैलाई भन्नुपर्ने बेला थियो ।
त्यसबेला “नेपालमा आमूल परिवर्तन अनिवार्य भइसकेको छ, त्यसका लागि सशक्त संघर्षको लागि हामी जस्ता विद्यार्थी युवाहरुले “आवश्यक परे छातीमा गोली थाप्दै अगाडि पर्नुपर्छ, क्रान्ति गर्नुपर्छ” भनेर लागेको नाताले आफ्नो जिल्लाबाट त्यस्ता चरम भ्रष्ट र वदनाम व्यक्तिले तत्कालीन सर्वाेच्च विधायिकामा पुगेकोबाट बढी दुःखी हुनु अस्वाभाविक थिएन ।
तर, पारिवारिक परिस्थिति, राजनीतिक परिवेश प्रतिकूल भएको कारण “क्रान्तिकारी” सोच र भावनालाई थाँती राखेर जीवन निर्वाहको लागि पेशा व्यवसायतिर लाग्न बाध्य पा¥यो । त्यस्ता “क्रान्तिकारी” र “संघर्ष अपरिहार्य छ” भन्नेमध्येका मित्रहरु जो जस्को सावगास (हैसियत) पेशा व्यवसाय नगरी संघर्य र परिवर्तनकै लागि अनवरत लागि रहनसक्ने थियो,– त्यस्तालाई सकृय संघर्षका लागि सफलताको शुभकामना दिँदै सक्दो सहजीकरण गर्ने प्रतिवद्धता सहित २०२७ सालमा सरकारको केन्द्रीय सचिवालय सिंहदरबारभित्र, राष्ट्र सेवकको रुपमा प्रवेश गर्न बाध्य भएको थिएँ ।
संयोग र आफ्नो चाहनाकै कारण मान्नुपर्छ तत्कालीन शासन प्रणालीका केन्द्रीय र स्थानीय निकाय बीचका आधार स्तम्भ मानिएका जनप्रतिनिधि मूलक निकाय (जिल्ला पञ्चायत÷जिल्ला विकास समिति)हरुसँग प्रशासनिक रुपमा आवद्ध भई (पी.डी.ओ. एल्.डी.ओ र क्षेत्रीय निर्देशक पदमा रही) ग्रामीण विकासकै कार्यमा आफ्नो राष्ट्र सेवाको लामो अवधि पूरा गर्ने अवसर पाएँ ।
सम्भवतः त्यसैले र सेवाको उत्तराद्र्ध कालबाट बढी सकृयतापूर्वक चासो राख्दै आएँ । समसामयिक राष्ट्रिय ज्वलन्त विषयमा कलम चलाउँदै आउँदा आम संचार माध्यमहरुबाट निरन्तर रुपमा देश र राज्यको शासन व्यवस्थाका बारे आएका विषयले चासो र चिन्ता जगायो ।
आफू “सेवा निवृत्त राष्ट्रसेवकसँगै हालवाला “स्वतन्त्र पत्रकार”को परिचय पत्रधारक (स्तम्भकार) भएको कारण आफूले झण्डै दुई दशकदेखि “आर्थिक, सामाजिक, शैक्षिक, नैतिक लगायतका समग्र पक्षबाट शासन सत्ता नियन्ताहरुबाट देश र आम जनताका पीर, पीडाप्रति वेवास्ता गरियो ।
कृपया आफूलाई विश्वास गरेर शासनाधिकार दिने (जनता)प्रति यति अनुत्तरदायी नभइदिनुस् । तपाईहरु यस्तै सत्ता, शक्ति र स्वार्थका नितान्त वशीभूत बन्दै गए, अति संवेदनशील भू–अवस्थिति र गरीबी एवं विपन्नताको दलदलमा फस्दै गएको राष्ट्रको अस्तित्व, अस्मिता, अखण्डता र सार्वभौमिक स्वतन्त्रता दुर्घटनाग्रस्त हुन सक्छन् ।
त्यस्तो अकल्पनीय अपकृत्य तपाईहरुबाट हुन पुगे देशघातीको महाकलंकको भारी इतिहासले तपाईहरु र तपाईहरुका ती आज जन्मिसके वा जन्मनै बाँकी अवोध सन्ततिको थाप्लोमा बोकाएको हुनेछ, ठहर्याउनेछ ।”
त्यसैले देश र संघर्षका पर्याय वा प्रतीक परिचय दिँदै आएका तपाईहरु त्यस्तो आरोप, आक्षेपबाट बच्ने गरी आफ्ना पाइला चाल्दै अगाडि बढिदिनोस्” भनेर दर्जनौं स्तम्भ, लेख मार्फत विनम्रतापूर्वक निवेदन गर्नेदेखि सचेत गराउनेसम्मका कार्य गरियो । तर “निदाएकालाई जगाउन सकिन्छ, निदाएको वहाना पारेर सुतेकालाई जगाउन सकिन्न” भन्ने लोकोक्ति चरितार्थ गरियो । नियतै खराब भएकाहरु झन् टाढिए, टेढिए ।
परिणामतः उताको तीस वर्षे निर्दलीय निरंकुश शासन प्रणालीलाई एकोहोरो सत्तोसराप गर्दै आएका नेताहरुले २०४८ यताको तीस वर्षे आफ्नो शासनकालमा “कुनै पनि ठूलो, उल्लेख्य र कीर्तिमानी काम त गरेनन् नै । अझ देशलाई पतनको अँध्यारो पींधतिर पुर्याए” भन्नेहरु (शासन सत्ताका आसेपासेहरु बाहेक) सबैजसोबाट सुन्नुपर्यो । देशको यस्तो समग्र परिवेशमा उही “को सक्छ चारैतिर आगो लागिरहेको खरवारीको बीचमा त्यो सबै देखेर पनि दिउँसै मस्त निदाउन ?” भने जस्तै भयो ।
आफूले आजभन्दा दुई दशक अगाडि यही क्षेत्रको स्थानीय विकासको क्षेत्रीय निर्देशकको रुपमा कार्यरत हुँदाका बखत उठाएको कालीगण्डकी किनारै किनार मुक्तिनाथ पुग्ने मोटर बाटोले आज राष्ट्रिय गौरवको प्राथमिकता प्राप्त आयोजनाको दर्जा पाई जसरी पूरा हुँदैछ । त्यसरी नै आफूले एक दशक अघि नै उठाएको “पूर्व—पश्चिम राजमार्गसँग जोडिएको पूर्वी नवलपरासीको कावासोतीदेखि उत्तरी सीमा कोरल्लासम्म अन्तर्राष्ट्रियस्तरको राजमार्ग निर्माण गर्ने राष्ट्रिय संकल्प र चाहना भए कालीको आसपास दुई ठाउँका डाँडामुनी बढीमा ६–७ कि.मी. र कास्कीको उत्तरी अन्नपूर्ण गाउँपालिकाको घान्द्रुक तल सुरुङ्ग मार्ग निर्माण गर्दा पोखराबाट ४–५ घण्टामा नै विना जोखिम पवित्रतम मुक्तिनाथ दर्शन गर्न सकिनेछ ।
तातो पानी (खासा) र केरुङ्ग काठमाण्डौ बीचको परिकल्पित तिव्वतसँगको व्यापार नाका जति प्राकृतिक प्रकोपको कारण जोखिमपूर्ण हुँदा अस्थायी र मौसमी हिउँदका मात्र चल्नसक्ने वर्षातका बेला बन्द भइरहने भयो । त्यसैले अहिले पनि चिनिया सामानका व्यापारीहरुले आफ्नो माल सामान कलकत्ता हुँदै नेपाल ल्याउन बाध्य छन् ।
यो सुरुङ्ग मार्ग वने त्यस्तो समस्याबाट पूर्णतः मु्क्त हुनेछन् । कावासोती–कोरल्ल राजमार्ग आसपास निकै खाली जमीनमा औद्योगिक विकासका सम्पूर्ण पूर्वाधार तयार हुनेछ । नेपालको सबैभन्दा ठूलो हजारों औद्योगिक प्रतिष्ठान स्थापित र संचालित हुनेछन् ।
त्यतिमात्र नभई वर्षेनी करोडौं भारतीय तिर्थयात्री भगवान मुक्तिनाथको र लाखौं चिनिया, जापानी, कोरियन बौद्ध धर्मामवलम्वी आफ्ना नागराज—नागदेवता (ल्यूवोङ ग्याल्पो)को दर्शनाथ आउनेछन् । अन्यधर्मी हिमालपारको विशेष प्रकारको भूमी (साङ्ग्रीला) हेर्दै मानसरोवर—कैलाश जान आउनेछन् ।
आर्थिक रुपमा सम्भवतः घाटाको सावित हुने देखिन थालिएको पोखरामा नवनिर्मित अन्तर्राष्ट्रिय क्षेत्रीय विमानस्थलको व्यापार बढ्ने छ । समग्रमा “नेपालको भौगोलिक दृष्टिले मध्यवर्ती यो गण्डकी प्रदेश पर्यटन, व्यापार, औद्योगिक केन्द्र (हव) बन्नसक्ने अथाह सम्भावना भएको ठाउँ हो । तर यस क्षेत्रबाट आजसम्म सर्वाेच्च विधायिका संसदमा निर्वाचित जनप्रतिनिधिहरुले यहाँको भाग्यद्वार खोल्नेतिर कहिल्यै ध्यान दिएको देखिएन ।”
त्यसैले अन्य विकल्प नदेखी २०७९ मंसीर ४ मा सम्पन्न हुन गइरहेको प्रतिनिधिसभा सदस्य निर्वाचनमा आफ्नो पिता पु्र्खादेखि आफूसम्म जन्मे—हुर्केको थातथलो कास्की निर्वाचन क्षेत्र नं. २ बाट उम्मेदवारी दर्ता गराई आम मतदाता महानुभावसँग मलाई मेरो निर्वाचन चिन्ह माछामा मतदान गरिदिन आग्रह गर्दै गाउँ गाउँ हिँडे । त्यसरी आम मतदाताहरु समक्ष भेट गर्दै र भोट माग्दै आफ्नो प्रतिवद्धता पुस्तिका बाँड्दै विभिन्न ठाउँमा पुगे ।
तर, संयोग हो कि तीतो सत्यको अभिव्यक्ति ? सबैतिरका मतदाताबाट नै “हेर्नुस्, यस तीस वर्षमा सबै दलले आम मतदातालाई कति धेरै धोका दिए, भ्रष्टाचार गरे, आम मतदातालाई मतदान केन्द्र पुगेर मतदान गर्दासम्म देउता माने, खुट्टा ढोगे । जब मतदान गरेर मतदाता फर्के, तिनलाई तिनै अघिसम्म खुट्टा ढोग्ने नेताले “जुत्ता” ठान्दै पिठ्यूँ फर्केर नहेर्ने भए ।
त्यसैले पार्टी र नेताको मुख देख्यो कि बेसर्मी, ….. हरु आए, भन्दै घरका झ्याल ढोका बन्द गर्ने भए । छीःछी दूरःदूर गर्नु गरिसके । जुनका कारण संसदीय गणतन्त्रात्मक मौजुदा व्यवस्था नै ढल्ने स्थिति आइसक्यो । त्यति हुँदा हुँदै पनि हरेक गाउँ—वडामा तिनै दलका नेताका कलो पूरा पाए, खाए र पालिएकाको संख्या २००–३०० छन् ।
उनीहरु मंसीर २–३ गते हरेक गाउँ गाउँमा भैंसी र रक्सी पुर्याउने तयारीमा लागेका छन् । त्यति मात्र होइन, बोराको बोरा रकम आइसकेको सुनिइसकेको छ । यस्तो वातावरणमा तपाईको “यस प्रदेशकै रुपान्तरणकारी यति राम्रो मुद्दाको के अर्थ ? कोही हेर्दैनन् पढ्दैनन्, सुन्दैनन ।” यही र यस्तै जवाफ र प्रतिकृया आए पाएको छु ।
तर ती सबै भनाई कास्की जिल्लाका लागि उहिलेदेखि अहिलेको शासन व्यवस्था सञ्चालकसम्मका लागि सामान्य नै होलान् । तथापि उनीहरुकै भनाई अनुसार “अहिलेसम्म कसैले कहिल्यै यति स्पष्ट अवधारणा र योजना नआए नल्याएको” स्थितिमा उही पुरा नै “भैसी र रक्सीमा” यस क्षेत्रका सचेत र विवेकशील मतदाता वहकिन्छन् विक्छन् भन्ने परिकल्पनान पनि गर्न सकेको छैन । यथार्थता ४ गतेले नै स्पष्ट गर्ला !
प्रतिक्रिया राख्नुहोस्