गुल्मी–२- विष्ट र झाँक्रीको पेचिलो प्रतिस्पर्धा
गुल्मी क्षेत्र नं .२ मा विगतका सहयात्री पूर्वमन्त्रीद्वय गोकर्ण विष्ट र रामकुमारी झाँक्रीको प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ । दुई सङ्घीय निर्वाचन क्षेत्र रहेको गुल्मीको निर्वाचन क्षेत्र नं २ मा जिल्ला सदरमुकाम तम्घाससहित पश्चिम भाग पर्दछ ।
आगामी मङ्सिर ४ गते हुने निर्वाचनका लागि दुई लाख २३ हजार छ सय १५ मतदातामध्ये यहाँ सो क्षेत्रमा एक लाख चार हजार तीन सय २७ रहेको जिल्ला निर्वाचन अधिकृत माया कुँवरले जानकारी दिनुभयो । क्षेत्र नं २ प्रदेशसभा (१) मा ५१ हजार नौ सय चार छन् र (२) मा ५२ हजार चार सय २३ छन् ।
गत स्थानीय तहको निर्वाचनबाट तीन स्थानीय तहमा नेपाली कांग्रेस र दुई स्थानीय तहमा नेकपा (माओवादी केन्द्र) र एक स्थानीय तहमा नेकपा (एमाले)ले नेतृत्व गरेको छ । रेसुङ्गाको प्रमुख र उपप्रमुख, इस्माको अध्यक्ष र उपाध्यक्ष, मदानेको अध्यक्ष र मालिकाको उपाध्यक्ष कांग्रेसले जितेको छ ।
मालिका र धुर्कोटको अध्यक्ष माओवादी जितेको छ । मुसीकोटको प्रमुख र उपप्रमुख, मदानेको उपाध्यक्ष र धुर्कोटको उपाध्यक्ष एमालेले जितेको थियो । यहाँ कूल ४३ वडा छन् । कांग्रेसले २५, एमालेले १७ र माओवादीले एक जितेको थियो । सत्तारुढ गठबन्धनका २६ र एमालेका १७ छन् ।
यहाँ गत स्थानीय तहमा वडाध्यक्षले पाएको मतका आधारमा कांग्रेससहितको गठबन्धनको ३२ हजार दुई सय २७ मत छ । एमालेसहितको गठबन्धनको ३१ हजार तीन सय ६२ छ ।
एमाले गठबन्धनभन्दा कांग्रेस गठबन्धन नौ सय २५ मतले अगाडि छ । यहाँ मुख्य नेकपा (एकीकृत समाजवादी)की रामकुमारी झाँक्री र एमालेका गोकर्ण विष्टबीच प्रतिस्पर्धा हुँदैछ ।
वडाध्यक्षले पाएको मत सुरक्षित गर्नसकेमा कांग्रेससहितको सत्तारुढ गठबन्धनकी उम्मेदवार रामकुमारी झाँक्रीलाई जीत निकाल्न सहज छ । उहाँलाई वडाध्यक्षमा सत्तारुढ गठबन्धनका दलले पाएको मत सुरक्षित राख्न निकै चुनौती छ ।
एमालेसँगको असन्तुष्ट समूहलाई आफूतिर तान्नसक्ने पनि झाँक्रीलाई अवसर छ । कांग्रेसका तल्लो तहका मतदाताले पनि आफ्नो चुनाव चिह्नलाई भुलेर गठबन्धनको भूमिका निर्वाह गरेमा झाँक्रीले यस क्षेत्रमा एमालेको विरासत तोड्न सक्नुुहुनेछ ।
विष्टलाई एमालेले वडाध्यक्षमा पाएको मत सुरक्षित राख्दै गठबन्धनका भएका दलको मत तान्न आवश्यक छ । जुन सम्भव नहुन पनि सक्छ । अघिल्लो सङ्घीय निर्वाचनमा माओवादीको साथ पाएर निकै सहज जीत निकाल्नुभएका उहाँलाई बलियो उम्मेदवारका रूपमा हेरिएको छ ।
एमालेबाट छुट्टिएर समाजवादीमा गई उम्मेदवार बन्नुभएकी झाँक्रीलाई एमालेको मत जाने वा नजाने भन्नेमा पनि भर पर्दछ । पहिलेका सहयात्री झाँक्री र विष्ट अहिलेका मुख्य प्रतिस्पर्धी हुँदा मतदाताले कसलाई बढी रूचाउलान् भन्ने निकै कौतुहलताका साथ हेरिएको छ । झाँक्री र विष्टको प्रतिस्पर्धा पेचिलो बन्दै गएको छ ।
यस क्षेत्रको प्रदेशसभा (१) मा कांग्रेसहितको गठबनधनको १६ हजार ६७ मत छ । एमालेसहितको गठबन्धनको १५ हजार आठ सय ८२ छ । जहाँ एमालेभन्दा कांग्रेससहितको गठबन्धन एक सय ८५ अगाडि छ ।
यहाँ सत्तारुढ गठबन्धनबाट कांग्रेसका भुवनप्रसाद श्रेष्ठ र एमालेका डिल्लीराज भुसालबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ मुसीकोट, इस्मा र रेसुङ्गाका ६ वडा पर्दछन् । यहाँ २१ वडा छन् । कांग्रेसले १२ र एमालेले नौ वडा जितेको छ ।
यहाँ कांग्रेसका श्रेष्ठ उम्मेदवार रहेकोले कांग्रेसले वडाध्यक्षमा पाएको मत बचाउनसके मात्र जीत सहज छ । यो सानो प्रयासले हुँदैन । एमालेका भुसाललाई आफ्नो दलले वडाध्यक्षमा पाएको मत सुरक्षित गर्दै सत्तारुढ गठबन्धनको मतसमेत तान्न आवश्यक छ । जुन त्यति सहज छैन ।
यहाँ श्रेष्ठ र भुसालबीचको प्रतिस्पर्धा निकै चाखलाग्दो हुनेछ । अघिल्लो पटक रेसुङ्गाको प्रमुखमा उनै भुसालसँग हार बेहोर्नुभएका श्रेष्ठ अहिले त्यसको बदला लिने दाउमा हुनुहुन्छ । भुसाल अघिल्लो जीतलाई आत्मबलका रूपमा लिनुभएको छ ।
यस क्षेत्रको प्रदेशसभा (ख) मा कांग्रससहितको गठबन्धनको १६ हजार दुई सय २० मत छ । एमालेसहितको गठबन्धनको १५ हजार आठ सय ४० छ । एमालेसहितको गठबन्धनभन्दा कांग्रेससहितको गठबन्धन तीन सय ८० ले अगाडि छ ।
यहाँ सत्तारुढ गठबन्धनबाट माओवादीका बुद्धि जिसी र एमाले गठबन्धनबाट दिनेश पन्थीबीच प्रतिस्पर्धा हुँदैछ । यहाँ मालिका, मदाने र धुर्कोट पर्दछन् । यहाँ २२ वडा छन् । कांग्रेसका १३, एमालेका आठ र माओवादीको एक वडा छ । कांग्रससहितको गठबन्धनका १४ र एमालेसहितको गठबन्धनका आठ वडाध्यक्ष छन् ।
गत स्थानीय तहको निर्वाचनमा वडाध्यक्षले पाएको मत कायम रहेमा जिसीलाई जीत निकाल्न सहज छ । धुर्कोटमा एमालेसँगको गठबन्धनले नदेखिएको मत पनि अहिले माओवादीमै आउँछ । तसर्थ पनि सत्तारुढ गठबन्धनका जिसीलाई जीत निकाल्न निकै सहज छ । नेकपा एमालेका पन्थीलाई वडाध्यक्षमा पाएको मत सुरक्षित गरेर सत्तारुढ दलमा गएको मतसमेत तान्न आवश्यक छ । पन्थीलाई चुनौती बन्नसक्छ ।
प्रतिक्रिया राख्नुहोस्