चुनावका दिन श्रमगर्न विदेशिनेको भीड (फोटोहरुसहित)
नेपालमा प्रतिनिधिसभा र प्रदेशसभाको चुनावका दिन शहरबजार सुनसान जस्तै हुँदा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा भने भीडभाड थियो ।
मुलुकको अन्तर्राष्ट्रिय विमानस्थलमा भीडभाड हुनु त सामान्य मान्न सकिभन्छ तर साँझको समयमा नेपाल भित्रिनेभन्दा नेपालबाट बाहिरिनेको संख्या ९० प्रतिशतभन्दा बढी थियो ।
निर्वाचनलाई देशको मुहार फेर्ने अवसर भनिए पनि पटकपटक मतदान गरेका तर अवस्थामा कुनै सुधार नभएर निराश भएकाहरुलाई भोट खसाल्नेभन्दा विदेशिन हतार त्यहाँको दृश्यले देखाएको थियो ।
श्रमका लागि विदेश जानेहरुमा अधिकांश तराईका बासिन्दा थिए । उनीहरु आफ्नो श्रम गन्तव्यमा पुग्न एक दुई दिनअघि नै काठमाडौं आएको सहजै अनुमान गर्न सकिन्छ ।
मुलुकमा राजनीतिक व्यवस्था जति बदलिए पनि जनताको अवस्थामा कुनै सुधार नआएको यो दृश्यले नै देखाउँछ । यति मात्र हैन निर्वाचनमा पटकपटक मतदान गरेर आश्वासन पाएर थकित भएका हजारौं नागरिक हातमुख जोर्नका लागि कार्यस्थलबाट आफ्नो क्षेत्रमा गएनन् ।
श्रमका लागि पूर्वबाट पश्चिम पुगेका युवाहरु भोट हाल्न घर जाँदा ५-७ हजार खर्च हुन्छ यहाँ बसे कमाइ हुन्छ । भोट हाल्न जाँदा खर्च गरेको रकमले एक महिना रासन चल्न भन्नेहरु पनि चुनावकै दिन देखिए ।
यो अवस्थाको अन्त्य मुलुकको पहिलो शर्त हो, तर आजैबाट अवस्था बदल्छौं भन्नेहरुको आफ्नै अवस्था, अनुहारमा कान्ति र शरीरको बान्की मात्र बदलिन्छ, आम जनता जस्ताको तस्तै भन्ने विगतको अनुभवले पनि चुनावप्रति धेरैको आश मर्दैगएको देखिन्छ ।
चुनावले देशको अवस्थामा परिवर्तन आउँछ भन्ने नै हुन्थ्यो र गरीब निमुखाहरुमा चुनावप्रति भरोसा हुन्थ्यो भने पक्कै पनि एक दिन ढिला गरेर भोट खसालेरै विदेश उड्थे, तर उनीहरुमा जतिसक्दो छिटो श्रम गन्तव्य पुग्ने हतारो बाहेक केही देखिंदैन ।
प्रतिक्रिया राख्नुहोस्